३० आश्विन २०८३, शुक्रबार

तीन अर्ब ५२ करोडको बजेट प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

budget-nepal

भक्तपुर, १४ फागुन । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जिल्ला विकास समिति भक्तपुरको २७ औं जिल्ला परिषद् बैठकको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले नेपाली काँग्रेसले सहमतिका आधारमा संविधान जारी गर्ने संस्थागत निर्णय गरिसकेको बताउँदै आन्दोलनरत विपक्षी दलसँग वार्ता गरी सहमतिकै आधारमा संविधान निर्माण गर्न प्रयास गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले स्थानीय निकायको निर्वाचन गराउनेतर्फ पनि सरकारको ध्यान केन्द्रित रहेको बताउँदै यसका लागि तयारी गर्दै गरेको उल्लेख गर्नुभयो ।

उहाँले सरकार लोकतान्त्रिक संविधान निर्माण प्रक्रियामा केन्द्रित रहेकाले भौतिक संरचनाको विकास ओझेलमा परेको औल्याउँदै भक्तपुरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि स्थानीयस्तरबाटै जनता जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले भक्तपुर कृषि र उद्योगका लागि उर्वर क्षेत्र रहेको बताउँदै कृषि र औद्योगिक क्षेत्रको विकासमा भक्तपुरका नागरिक अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले आ।व। ०७२÷०७३ का लागि रु तीन अर्ब ५२ करोड ७२ लाखको जिल्लाको विकास योजना तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

परिषद्ले जिविस भक्तपुरको रु २६ करोड ४९ लाख, जिल्लाका छ नगरपालिकाको रु एक अर्ब १० करोड ५५ लाख र अन्य विषयगत कार्यालय एवम् गैससहरूको रु दुई अर्ब १६ करोड २२ लाखसहित उक्त बजेट सार्वजनिक गरेको हो ।

सो अवसरमा सभासद्हरु रामेश्वरप्रसाद ढुङ्गेल, मनमोहन भट्टराई, प्रेम सुवाल, केदार सञ्जेल, अनुराधा थापामगरलगायतले भक्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस