३० आश्विन २०८३, शुक्रबार

आफ्नै पार्टीका विधायक पुगेनन् केन्द्रीय मन्त्री रिजिजूको सम्बोधनमा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । आफ्नै १० विधायकको अनुपस्थितिमा भाजपा-का केन्द्रीय राज्यमन्त्री किरण रिजिजूको सम्बोधन कार्यक्रम सम्पन्न भएकाे छ ।

राज्यका तीनवटा विधानसभा आसनको उप चुनाउकोनिम्ति सिक्किम क्रान्तिकारी मोर्चा अनि भारतीय जनता पार्टीले संयुक्तरूपमा आयोजन गरेको विजय शङ्कल्प यात्राको कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, विधायकगण उपस्थित थिए तर भाजपा-कै १० विधायकले आफ्नै पार्टीका वरिष्ठ नेताको आगमनमा मञ्च साझा नगर्नु भाजपा र एसकेएमको गठबन्धन सिक्किममुखी नरहेको हो की भन्ने प्रतिक्रिया शुरु भइसकेको छ।

केन्द्रीय मन्त्री रिजिजूलाई स्वागतार्थ रम्फू गेटसम्म पुगेका भाजपा विधायकहरू रानीपूलको जनसम्बोधनसम्म आइनपुग्नु दुई पार्टी बीचको नैतिक तालमेल नभएर सोझै व्यक्तिगत फायदा या राजनीतिक असन्तुष्टता प्रष्ट देखिएको छ।

अर्कोतिर भाजपा र एसकेएम पार्टीको साझा मञ्चमा एसडीएफ पार्टीलाई त्यागेर जाने नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एमप्रसाद दुलाल उपस्थित थिए। उनी एसडीएफ पार्टीलाई छोडेर जानको कारण एसडीएफ पार्टी भाजपामा सामेल हुने कुरामा आफू असमर्थ भएर गएको आफ्नो बयानमा पहिले नै दिइसकेका थिए तर आज भाजपा कै मञ्चमा आफू पनि उपस्थित रहेर जनतालाई चकित बनाएका छन्।

केन्द्र सरकारको खेल एवं युवा मामिला अनि अल्पसंख्यक मामिला मन्त्रालयका राज्यमन्त्री रिजिजूले देश अनि दुनियाँमा भएको सिक्किमको चर्चाको कुरा साझा गरे। उनले प्रधानमन्त्री मोदी र सिक्किमको विशेष चर्चा गरेपनि आम चुनाउपछि सिक्किमलाई हुने फायदा र भाजपा अनि एसकेएम-को गठबन्धनमा भएका सम्झौताहरू भने सम्बोधनमा ल्याएनन्।

सिक्किमका विभिन्न राजनीतिक पार्टी अनि आम जनताको आशाको केन्द्र विन्दु रहेका सिक्किमका राजनीतिक मागहरूको सम्बोधनको आशामा बसेका जनताले आफ्ना आशाहरूको कुनै प्रत्युत्तर पाएनन्।

उनले केन्द्रमा भाजपा आएपछि पूर्वोत्तर राज्यहरूलाई धेरै ध्यान दिइएको कुरा सार्वजनिक गरेभने मन्त्री रिजिजूले आफू गृह मन्त्रालयमा हुँदा पूर्वोत्तरबाट दिल्ली पुलिसमा युवाहरूलाई लाने योजना खुलाएको बताए। उनले आगामी १० वर्ष भित्रमा दिल्ली पुलिसमा पाँच हजार युवाहरूहुने लक्ष्य राखेको पनि बताए।

केन्द्रमा मोदीको नेतृत्वमा मजबूत सरकार रहेको र अब एसकेएम र भाजपा मिलेर सिक्किमको विकास गर्ने दिशामा काम गर्ने बताए। उनले दुवै दल साथ चलेर काम गर्ने एका अर्कालाई गिराउने होइन भन्दै दुई दलको गठबन्धन दह्रिलो हुने बताए। एसकेएम पार्टीले दुई सीटमा सम्झौता गरेकोकुरामा आफूहरू खुशी रहेको अनि भाजपाको ठूलो लक्ष्य र सपमा रहेको पनि बताए। उनले सिक्किमको विकासको निम्ति दिन रात एक गरेर काम गर्ने पनि बताए।

सिक्किमको मञ्चबाट पश्चिम बङ्गाल सरकारलाई निशाना साँद्धै उनले सिलगडी देखि सिक्किम आउने बाटोमा आफू असन्तुष्ट रहेको बताए। उनले पश्चिम बङ्गालमा भाजपाको सरकार बनेपछि मात्र सबै बाटो राम्रो हुन्छ पनि भने।

पश्चिम बङ्गालमा गुण्डागर्दी र राजनीतिक हत्या हुनेगरेको छ भन्दै बङ्गाल सरकारले काम गर्न नसकेको पनि आरोप लगाए। मन्त्रीले सिक्किम र पश्चिमबङ्गाल सँगै जोरिएको हुँदा जबसम्म पश्चिम बङ्गालको विकास हुँदैन तबसम्म सिक्किमको पनि विकास हुन सक्दैन भनेका छन्।

उनले सडक मन्त्रालयका केन्द्रीय मन्त्री नितिन गडकरीलाई भेटेर पश्चिम बङ्गालको सडक अवस्थामा जानकारी गराउने पनि बताए। पूर्वोत्तर राज्यहरूमा सिमा क्षेत्रमा रहेपनि सिक्किम शान्ति अनि सुरक्षित राज्य रहेको बताउँदै उनले अब सिक्किमको पनि सडक मार्गको व्यवस्थामा सुधार ल्याउने बताए।

सिक्किमेको पहिचान, संस्कृति र परम्परालाई आँच आउन नदिने आफ्नो सम्बोधनमा ल्याउँदै सिक्किमको विशेष सुरक्षा अनुच्छेद ३७१ एफलाई अझ दह्रिलो बनाएर लाने बताए।

मन्त्री रिजिजूले कश्मीरको ३७०  ले काश्मीरलाई देशको मूल धाराबाट अलग गराएको थियो भने ३७१ एफ-ले सिक्किमलाई भारतको मूलधारमा ल्याएर राखेको छ भने। जानकारी गराइन्छ रानीपूलमा आयोजित जनसम्बोधन पछि उनले राजधानी गान्तोकका जनतासँग पनि भेटघाट गरेका थिए ।