काठमाडौँ, १४ फागुन । समाजमा महिला हिंसा र बलात्कार गर्ने जोसुकैलाई पनि कारवाही गरिने प्रधानमन्त्री सुशील कोइरालाले बताउनुभएको छ ।
छात्रामाथि एसिड खन्याउने र बलात्कार गर्ने अपराधीको खोजी गरी तत्काल कारबाही हुनुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाउन एकीकृत नेकपा माओवादी नेतृ शशी श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताउनुभएको हो ।
प्रधानमन्त्री कोइरालाले महिलामाथि हुने हिंसाबारे सरकार अत्यन्त सजग रहेको अवगत गराउनुभयो ।
उहाँले भारतको नयाँ दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको प्रसङ्ग उल्लेख गर्दै केही दिनअघि मात्र छात्रामाथि एसिड खन्याएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको र छिट्टै अपराधीको खोजी गरी कडा कानुनी गरिने विश्वास दिलाउनुभयो ।
सो अवसरमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले महिला हिंसामा परिवारभित्रै हुने हिंसाको अवस्था भयावह रहेको बताउँदै हाडनाता करणीसहित बलात्कारका घटनामा बलात्कारीलाई सजाय बढाउने गरी ऐनको संशोधन गरिन लागेको जानकारी दिनुभयो ।
नेपालले मृत्युदण्ड उन्मूलन गरी यससम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा पनि हस्ताक्षर गरिसकेकाले मृत्युदण्डको प्रावधान नराखिएको भए पनि जन्मकैदको अवधि २० वर्षबाट ३० वर्ष पुर्याइएको र बाबुबाटै बलात्कारको घटना भए थप १० वर्ष सजाय थपिएको पनि बताउनुभयो ।
















प्रतिक्रिया