
-जगन दाहाल
गान्तोक, २७ असोज । हाम्रो सिक्किम पार्टी र भारतीय जनता पार्टीबीच भएको राजनीतिक बुँदाहरू जनतामाझ लुकेको छैन । मुद्दाहरू सबै पारदर्शी रहेको हाम्रो सिक्किम पार्टीकी अध्यक्ष बीणा बस्नेतले बताएकी छन् ।
आज राजधानी गान्तोक नजिक विकास क्षेत्रमा रहेको आफ्नो पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले हाम्रो सिक्किम पार्टीले सिक्किमको मागहरूलाई लिएर भाजपासँग कुनै सम्झौता नगरेको र आफ्ना राजनीतिक बुँदाहरूसँग भाजपाको सकारात्मक विचार नहुँदा गठबन्धन नभएको कुरा स्पष्ट पारेकी छन् ।
उनले भाजपाका सिक्किम अध्यक्ष डीबी चौहानले लगाएको आरोपको खण्डन गर्दै भनेकी छन्, भारतीय जनता पार्टीले हाम्रो सिक्किम पार्टीलाई घरिघरि गठबन्धनको निम्ति आमन्त्रित गरेको तर एचएसपीको राजनीतिक मुद्दासँग भाजपाको सोच नमिलेको कारण गठबन्धन रद्द भएको पनि बताइन् ।
उनले गएको आम चुनाउ अघि पनि भाजपाको पक्षबाट पार्टी मर्जको कुरा आएको बताइन् । सिक्किममा भाजपाको अनैतिक ढङ्गले राजनीतिक प्रवेश हुँदैछ भन्दै भाजपा सिक्किमका अध्यक्ष डीबी चौहानमाथि पनि कडा प्रहार गरेकी छन् ।
उनले भनिन्, एसडीएफ पार्टी भ्रष्टाचारी हो भन्ने चौहानले एसडीएफका १० जना विधायक भाजपामा जाँदा पहिले स्वागत गर्ने उनै थिए । डीबी चौहानको व्यवहार जता मल्खू उतै ढल्कु भएको छ । भाजपाले आफ्नो शक्तिको दबाउमा सिक्किमको सत्तासीन पार्टीलाई उपचुनाउमा दुई सीट दिन बाद्य बनाएको छ ।
उनले भाजपा सिक्किमको कुनै मुद्दाप्रति इमान्दार नरहेको पनि दावी गरिन् । उनले आफ्ना पार्टीका मागहरू भाजपाले लिखित रूपमा दिन नसकेको पनि बताइन् ।
भाजपा अध्यक्ष डीबी चौहानको छिचिमिराको बयानमा उनले भनिन् राज्यमा छेपारा जस्ता नेताहरू भएपछि छिचिमिरा जस्तो भएर लम्कि थाप्न आउनै पर्छ ।
राम्रो काम गर्ने मानिसमाथि सधैं राजनीतिकरण हुनेगरेको आरोप लगाउँदै उनले भाइचुङ भोटियाको किमत पश्चिम बङ्गालमा बुझिएको तर सिक्किममा नबुझिएको बताइन् ।
उनले सिक्किममा राजनीतिज्ञहरूको टुँडीखेलको हिलोमा कमल फुलाउँदा लाली गुराँस र सयपत्रीको के मोल हुन्छ भनि क्षेत्रीय प्रेम दर्शाएकी छन् । उनले सिक्किमको राजनीतिलाई पारदर्शीताको साथ गरेर सिक्किमे नानीहरूको भविष्य हेर्ने अपील पनि गरेकी छन् ।
भाजपा अध्यक्ष चौहानले भाइचुङ भोटियालाई देशद्रोहीको आरोप लगाएको कुरामा पार्टीका प्रवक्ता विराज अधिकारीले भने, हाम्रो सिक्किम पार्टीलाई भाजपाले गठबन्धनको निम्ति बोलाउँदा पाँचवटा सिक्किमका मुद्दाहरू राखेको थियो । तर भाजपाले ती बुँदाहरू पूरा गर्न नसक्ने भयो। ३७१ एफ को पक्षमा बोल्दा देशद्रोही हुँदैन भन्दै प्रवक्ता अधिकारीले यदी संविधानको राम्रो ज्ञान छैन भने भाजपा अध्यक्षले यस विषयमा नबोल्दा पनि हुन्छ भनेका छन् ।
यसरी नै एचएसपीले भाजपाले ३७१ एफलाई नचलाएपनि त्यस भित्रका पुराना कानुनहरू भने सुरक्षित नहुने पनि बताएको छ । भाजपा भारतमा एक पार्टी एउटा व्यवस्था बनाउने कार्यमा लागिपरेको छ भन्दै उनले भाजपा सिक्किमको निम्ति खतराको शङ्केत हुने पनि बताइएको छ । यसरी नै प्रवक्ता ग्याछो शेर्पाले नागरिकता संसोधन ऐन र एनआरसी सिक्किममा लागू हुन्छ कि हुँदैन प्रदेश भाजपा अध्यक्ष चौहानले स्पष्ट गर्नुपर्ने माग राखे ।
जानकारी गराइन्छ, हाम्रो सिक्किम पार्टी (एचएसपी) ले आफ्नो चुनाउ प्रचारप्रसारको क्रममा लगाएको ’सिक्किम इज नट फर सेल’ लेखिएको चुनावी ब्यानर (हरू) लाई लिएर एचएसपी र भारतीय जनता पार्टी (भाजपा), सिक्किमबीच आरोप(प्रत्यारोपको क्रम शुरू भएको छ ।
उक्त चुनावी पोस्टरहरूलाई लिएर विवाद उत्पन्न भएपछि प्रशासनले ब्यानर हटाएको थियो। भाजपाकै दबाउमा आएर प्रशासनले उक्त ब्यानरहरू निकालेको एचएसपीको आरोप छ भने भाजपाले उक्त आरोपको खण्डन गरेको छ । अर्काेतिर, प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले यस विषयमा प्रतिक्रिया गर्दै एचएसपीको उक्त चुनावी ब्यानरहरू राष्ट्र विरोधी विचारले प्रेरित रहेको आरोप लगाएका थिए ।















प्रतिक्रिया