
काठमाडौँ, १३ असोज । नेपाल आज दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा हुँदैछ ।
राष्ट्रिय सभागृहमा आज दिउँसो आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् ।
प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुने छ ।
खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत विभिन्न कार्यपत्रहरुको प्रस्तुती गरिने छ । यस्तै, विभिन्न साँस्कृतिक कार्यक्रम पनि हुनेछन् ।
नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि बोलाइएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले जानकारी दिए ।
२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो ।
सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो ।















प्रतिक्रिया