५ कार्तिक २०८३, बिहिबार

खसीबाेकाकाे सहुलीयत मूल्य निर्धारण हुन सकेन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३असाेज । दसैं सुरु भइसक्दा समेत सरकारले खसीबोकाको सहुलियत मूल्य निर्धारण गर्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

दसैंका लागि सर्वसाधारणले आइतबारदेखि नै खसीबोका किन्न सहुलियत पसलमा गए पनि रित्तो हात फर्कनुपरेको छ । सरकारले समयमै मूल्य निर्धारण गर्न नसक्दा सर्वसाधारण महँगोमा खसीबोका किन्न बाध्य भएका छन् ।

आइतबार खसीबोकाको सहुलियत मूल्य निर्धारण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बैठक बसे पनि मूल्य निर्धारण हुन सकेन ।

वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्र्देशक योगेन्द्र गौचनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जिल्लामै खरिद मूल्य धेरै बढेको हुँदा मूल्य निर्धारण गर्न कठिनाइ भएको बताए ।

महानिर्देशक गौचनले बजार मूल्य अध्ययन गरेर सोमबार दिउँसोसम्म मूल्य निर्धारण गर्ने दाबी गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवसँगको छलफलपछि मूल्य निर्धारण हुने उनले जनाए ।

बजार मूल्य बढी भएपनि कम्पनीले घाटा खाएर सर्वसाधारणलाई बजारभन्दा प्रतिकेजी ४० देखि ५० रुपियाँ सहुलियत दिने गरी निर्णय गर्ने तयारी विभागले गरेको छ ।

गत वर्षको दसैंमा तत्कालीन नेपाल खाद्य संस्थानले प्रतिकेजी खसीबोका ५ सय ५० रुपियाँमा बिक्री गरेको थियो भने च्यांग्रा ७ सय १० रुपैयाँमा बिक्री गरेको थियो । तर, विभागले यस वर्ष भने प्रतिकेजी ५० रुपैयाँसम्म बढ्न सक्ने बताएको छ ।