३० आश्विन २०८३, शुक्रबार

एनआरएनएको कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, ९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव, क्षमता, दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन् ।

हाईड्रो, बैंकिङ, रेमिट्यान्स, आधुनिक कृषि, आईटी, इन्सुरेन्स, आयात निर्यात, भौतिक पूर्वधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही नेपालमा लगानी भित्र्याउन उदाहरण बनेका श्रेष्ठले आफ्नो व्यवसायिक अनुभवका आधारमा कोषाध्यक्ष पदलाई न्याय गर्नसक्ने दाबी गरेका छन् ।

एक विज्ञप्ति मार्फत् श्रेष्ठले गैर आवासीय श्रमिक कल्याण कोष, आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दाका रूपमा अगाडि सारेका छन् ।

हाल एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्।

श्रेष्ठले आफूले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने र कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने दाबी गरेका छन् ।

संसारभरबाट वार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्रबैंकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैंकलाई दिने गरिएकोमा ३० पैसा मध्ये १ पैसा कोषमा जम्मा गर्न सकिएमा वार्षिक ८ करोड रुपैयाँ जम्मा गर्न सकिन्छ भन्ने उनको आँकलन छ ।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी समाजशास्त्रमा स्नाकोत्तर हुन् । उनले जापानको ग्लोबिस विश्वविधालयबाट व्यवस्थापनमा स्नातकोत्तर को अध्ययन पनि गरेका छन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्नेक्रममा रहेका छन् ।