काठमाडौं, २ असोज । नेपाल प्रहरीले करीब ५१ करोडको बन्दोबस्तीका सामान खरीदका क्रममा २० करोडभन्दा बढी अनियमितता गर्न लागेको आरोप लागेको छ ।
यो आरोपलाई नेपाल प्रहरीका डीआईजी एवम् प्रवक्ता विश्वराज पोखरेलले सिधै अस्वीकार गरिदिएका छन् । यी आरोपहरूमा कुनै सत्यता नरहेको बताए ।
प्रहरीको खरीद हेर्ने प्रबन्ध र आर्थिक प्रशासन महाशाखाका अधिकारी र निश्चित ठेकेदारहरूले पहिले नै सेटिङ गरी ६ वटा आपूर्तिकर्तालाई मिलेमतोमा ठेक्का दिन लागिएको उच्च स्रोतले जनाएको छ ।
स्वच्छ प्रतिस्पर्धा हुँदा ३० देखि ३५ करोडसम्ममा ठेक्का लाग्ने सामान मिलेमतोमा ५० करोड ७० लाख रुपियाँमा खरिद गर्न लागिएको हो । गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत २ वर्षको र यो वर्षको बोलपत्रको छानबिन गर्ने हो भने ठूलो घोटाला गर्न लागेको पुष्टि हुने स्रोतले जनाएको छ ।
प्रहरीको सामान खरिदमा सेटिङका लागि अख्तियारका सचिव महेश्वर न्यौपानेसम्मलाई नै मिलाएको दाबी गर्ने बस्नेतको समूहले नै विगत वर्षमा सेटिङ नभई बोलपत्र पेश गर्दा लागत अनुमानभन्दा ४–५ सय कम रकम कबोल गरेका थिए ।
अहिले लागत अनुमानभन्दा ३ रुपियाँ कममा बोलपत्र पेश भएका छन् । गोप्य रहनुपर्ने लागत अनुमान प्रहरीको प्रबन्धबाट नै ठेकेदार ज्ञानेन्द्र बस्नेतको समूहले पाएको स्रोतले जनाएको छ ।
प्रहरीको प्रबन्धका अधिकारी र ठेकेदार ज्ञानेन्द्र बस्नेतबीच सेटिङ गरी पहिले नै हरेक सामानको लागत अनुमानको बारेमा जानकारी लिएपछि ३ रुपियाँदेखि ५ रुपियाँ कममा बोलपत्र पेश गरेका थिए ।
भदौ २४ मा खोलिएको बोलपत्रको मूल्यांकनपछि तिनै सेटिङ भएका बस्नेतहरूकै कम्पनीले नै पाउने निश्चित भएको एक उच्च अधिकारीले बताएका छन् ।
नेपाल प्रहरीले गएको साउन २६ मा चुस्ता, कटन सर्ट, कटन पाइन्ट, ऊलन सर्ट, डीएमएस बुट, उलन स्वीटरसहित १४ किसिमका सामान खरिदको लागि टेण्डर आह्वान गरेको थियो ।
भदौ २४ गते खोलिएको उक्त टेण्डरमा पहिले नै सेटिङ भएअनुसार लागत अनुमानभन्दा ३ रुपियाँदेखि ५ रुपियाँ कम अंकमा बोलपत्र पेश गर्ने जय सलिना इन्टरप्राइजेज, प्लस पइन्ट इन्टरप्राइजेज लगायतलाई दिने तयारी प्रहरीको छ ।
यसरी लागत अनुमानकै हाराहारीमा बोलपत्र पेश गर्नेहरूलाई ठेक्का दिएका कारण प्रतिस्पर्धा नहुँदा प्रहरीको खरिदमा २० करोड घोटाला हुने स्रोतको दाबी छ । लागत अनुमानभन्दा ३ देखि ५ रुपियाँमात्र कम रकममा बोलपत्र पेश हुने कुरा मिलेमतोविना संभव नै नभएको एक आपूर्तिकर्ता बताउँछन् ।
जबकि गत २ वर्षमा लागत अनुमानभन्दा ३ देखि ५ सय रुपियाँ कम रकममा बोलपत्र परेका थिए । टेण्डर खोल्नु एकदिनअघि भदौ २३ मा प्रबन्ध शाखाकै अधिकारीसँग आपूर्तिकर्ता जयसलिना इन्टरप्राइजेजका ज्ञानेन्द्र बस्नेत, क्राउन टेक्सटाइलका पिताम्बर मुन्का र तेजसम इन्टरप्राइजेजका टोपेन्द्र बिसीसहित बसेर सेटिङ गरेको आरोप छ ।
नेपाल प्रहरीका पूर्वसई ज्ञानेन्द्र बस्नेत नै प्रहरीको ठेक्कामा सेटिङ गर्ने मुख्य पात्र हुन् । प्रबन्धका हाकिम र उनकै डिजाइनअनुसार ६ वटा ठेकेदारलाई फरक–फरक सामानको टेण्डर पर्नेगरी मिलेमतोमा बोलपत्र पेश गरेका थिए ।
बस्नेतले नै कुन ठेकेदारले कुन सामानको ठेक्का पाउने भनेर प्रबन्धमा बसी सेटिङ गरेको भदौ २३ गतेको सीसी क्यामराको फुटेज नै गृहमन्त्रालय र अख्तियारले मगाएर हेरे पनि प्रष्ट हुने प्रहरी उच्च स्रोतको दाबी छ । त्यही सेटिङ अनुसार नै ६ वटा ठेकेदारले ठेक्का पाउन लागेका छन् ।
ठेकेदारलाई गुणस्तर परीक्षणमा संलग्न नै गराउन पाइँदैन । गतवर्ष गुणस्तर परीक्षण गर्दा ठेकेदारले नै सामान बोकेर भारतको दिल्लीस्थित आइटीएस (गुणस्तर परीक्षण गर्ने संस्था)मा लगेको छानबिन गरे खुल्ने स्रोतले माग गरेको छ ।
प्रहरीले कुरियरमा सामान पठाउँदा एक हप्तामा मात्र आइटीएसमा पुगेको पफर्मेन्स इन्भ्वाइस (पीआइ) आउँछ । तर गतवर्षको टेण्डरमा आज गुणस्तर टेष्टका लागि पठाएको सामानको पीआई भोलिपल्टै आइटीएसबाट आएको थियो । पीआई आउन विगतमा १५ दिनसम्म लाग्ने गरेको थियो । ठेकेदारले प्रहरीलाई बुझाएका सामानमध्येबाट जुनसुकै पिस छानेर गुणस्तर परीक्षण गर्न पठाउनुपर्ने कानूनी व्यवस्था छ ।
तर गतवर्षको ठेक्कामा प्रहरीले ठेकेदारलाई नै आफैं सामान लिएर गुणस्तर परीक्षण गर्न छुट दिएको छ । यसरी गुणस्तर टेष्टमा पठाउनु भनेको परीक्षामा परीक्षार्थीलाई प्रश्न बनाउन जिम्मा दिएजस्तै हो ।
प्रहरीको नाममा ठेकेदारले सामान बुझाउन लगेकै कारण एक दिनमै पीआई आएको हो । गुणस्तर टेष्टका लागि राम्रो सामान बनाएर लैजान छुट ठेकेदारलाई दिइएकै कारण पास भएको रिपोर्ट आएको हो ।
प्रहरीले खरिद गरिएका सामान सबै आइटीएसको गुणस्तर रिपोर्टअनुसारका गुणस्तरीय छन् कि छैनन्, छानबिन हुने गरेको छैन ।
प्रहरीको अहिलेको ठेक्कामा पनि गुणस्तर टेष्टका लागि गतवर्ष चलखेल गरेकाहरूले नै सेटिङमा ठेक्का पाउन लागेकाले यो वर्ष पनि गुणस्तर टेष्ट पारदर्शी हुने कुरामा आशंका प्रकट गरिएको छ ।
नेपालको गुणस्तर तथा नापतौल विभागलाई विश्वास नगरी प्रहरीले भारतमा पठाउने गरेको छ । तर भारतको आइटीएसमै श्रवणकुमार अग्रवाल(बिटु)ले सेटिङ गर्दै ज्ञानेन्द्र बस्नेतहरूको नमूनामात्र पास गराई अरुको फेल गराउने गर्दैआएका छन् ।
आइटीएसमा नेपाल रिजन हेर्ने जोगेश नामक व्यक्तिलाई १० लाख भारतीय रुपियाँ श्रवणकुमार अग्रवालले घुस दिएर ज्ञानेन्द्र बस्नेत समूहको मात्र नमूना टेष्टमा पास गराउने गरिएको आरोप छ ।
कतिपयको नमूना टेष्ट नै ढिला गरी टेण्डरको समयावधिभित्र रिपोर्ट नै नदिई बोलपत्रमा भाग लिनबाटै बन्चित गर्ने खालका काम पनि हुँदैआएका छन् । प्रहरीले अन्तर्राष्ट्रिय मापदण्डको आइटीएसबाट गुणस्तर पास भएको सामान खरिद गरेको दाबी गर्दैआएको छ ।
तर त्यस अनुसारको छ कि छैन अनुगमन हुनसकेको छैन । नेपाली सेनाले प्रहरीभन्दा सस्तोमा खरिद गरेको चुस्ता गुणस्तरीय छ । तर प्रहरीको चुस्ता खुइलिने र कटन सर्ट र ऊलन पाइन्ट पनि कमसल भएकोे गुनासो आउने गरेको छ ।
ज्ञानेन्द्र बस्नेतको समूहले लागत अनुमानकै हाराहारी मूल्यमा टेण्डर हालेकाले पनि मिलेमतो भएको कुरालाई पुष्टि गरेको छ । ६ वटा आपूर्तिकर्ताबीच यो–यो सामानको टेण्डर यसले पाउने भनी सेटिङ गरी टेण्डर हालिएको थियो ।
चुस्ताको ठेक्कामा गतवर्ष प्रतिस्पर्धा भएको थियो । यो वर्ष प्रहरीले १ लाख ६९ हजार मिटर चुस्ताको टेण्डर गरेको छ । जसमा सेटिङमा ठेक्का दिएर ३ करोड बढी सरकारलाई नोक्सान पार्न लागिएको छ ।
यदि गत वर्षको जस्तै प्रतिस्पर्धा भएको भए सरकारी रकम ३ करोड बचत हुनेथियो । यो वर्ष ज्ञानेन्द्र बस्नेतकै कम्पनीलाई चुस्तामा प्रतिस्पर्धा नगरी मिलेमतोमा ठेक्का दिन लागिएको छ । जसमा ३ करोड बढी रकम तिर्नुपर्ने भएको छ ।
डीएमएस बुटमा २ हजार ९ सय ९६ रुपियाँ लागत अनुमान रहेकोमा २ हजार ९ सय ९१ कबोल गरेको जयसलिना इन्टरप्राइजेजले पाउन लागेको छ । जयसलिना ज्ञानेन्द्र बस्नेतको कम्पनी हो ।
जबकि डीएमएस बुटको गत आर्थिक वर्ष २०७५–७६ मा टेण्डर हुँदा २ हजार ४ सय ८० लागत अनुमान रहेकोमा २ हजार ९२ रुपियाँ अर्थात ४ सय रुपियाँ कममा टेण्डर परेको थियो । स्वच्छ प्रतिस्पर्धा हुँदा ४ सय रुपियाँ कममा डीएमएस बुट प्रहरीले खरिद गरेको थियो ।
यो पटक लागत अनुमानभन्दा ५ रुपियाँ कम अंकमा टेण्डर हाल्ने जयसलिनलाई मिलेमतोमा ठेक्का दिन लागिएको स्रोतको दाबी छ । गतवर्षको जस्तै प्रतिस्पर्धा भएको भए २४ हजार डीएमएस बुटमा लगभग ९६ लाख रुपियाँ कममा जुत्ता खरिद हुने देखिन्छ ।
यो वर्ष मिलेमतोमा ठेक्का दिई ९६ लाख रुपियाँ त डीएमएस बुटमै अनियमितता गर्न लागिएको छ । ऊलन पाइन्टको ठेक्का प्रतिमिटर १ हजार ३ सय २८ रुपियाँ पेश गर्ने बोलपत्रदाता अनिक ओभरसिजलाई दिन लागिएको छ । जबकि प्रहरीले गरेको बोलपत्रमा ऊलन पाइन्टको लागत अनुमान प्रतिमिटर १ हजार ३ सय ३१ रुपियाँ राखिएको छ ।
ऊलन स्वीटर प्रतिथान १ हजार ३ सय २ रुपियाँ लागत अनुमान थियो । नेपाल टेलिकमका कर्मचारी भए पनि प्रहरीमा ठेकेदारको काम गर्ने टोपेन्द्र बीसीको तेजसम इन्टरप्राइजेजले प्रतिथान १ हजार २ सय ९७ रुपियाँमा पेश गरेको छ र उसैलाई दिने तयारी छ ।
पन्चुको प्रतिथान २ हजार २ सय २३ रुपियाँ लागत अनुमान राखिएकोमा २ हजार २ सय २० रुपियाँमा ठेक्का दिने तयारी छ । पन्चुको प्रतिथान ३ रुपियाँ कममा टेण्डर हाल्ने तेजसमको ठेक्का स्वीकृत गर्न लागिएको छ ।
मस्क्वीटो नेट (झुल)को प्रतिथान ५ सय २८ रुपियाँ ८४ पैसा लागत अनुमान राखिएकोमा ५ सय २५ रुपियाँ पेश गरेको कम्पनीलाई ठेक्का दिन लागिएको छ । यसमा पनि ३ रुपियाँ कममात्र छ ।
ऊलन पाइन्टको गत आर्थिक वर्षमा प्रतिमिटर १ हजार १ सय २५ लागत अनुमान रहेकोमा ९ सय ६७ रुपियाँ कबोल गर्नेलाई ठेक्का दिइएको थियो । प्रतिमिटर १ सय ५८ कबोल गर्नेले टेण्डर पाएको थियो ।
यो पटक ऊलन पाइन्टमा ३ रुपियाँ कममा बोलपत्र पेश गर्नेले पाउन लागेको छ । यसैगरी कटन पाइन्ट, कटन सर्ट, ऊलन सर्ट, चुस्ता खरिदमा लागत अनुमानकै हाराहारीमा बोलपत्र पेश गर्नेको टेण्डर स्वीकृत गर्न लागिएको छ ।
प्रहरीका डीआइजी एवम् प्रवक्ता विश्वराज पोखरेल यसबारे के भन्छन् ?
नेपाल प्रहरीले गर्नु कुनैपनि काम कानून र खरिद नियमावलीअनुसार हुन्छ । बाहिर आए जस्तो कुनै पनि कुरा होइन । आर्थिक प्रशासनले एक पैसा पनि तलमाथि गर्न मिल्दैन । नियम कानून छ । यस्ता विषयमा तलमाथि हुनेवित्तिकै हामीभन्दा माथि पनि अनियमितता हेर्ने निकाय छ । तपाइले भने जस्तो यो विषयमा मैले पनि बुझ्न पाएको छैन । के रहेछ बुझेर आधिकारिक रुपमा भनौँला । बन्दोबस्तीका सामान खरिद गर्दा गुणस्तरमा पनि विशेष ध्यान दिइन्छ । यस्ता विषय हचुवाकाे भरमा हुँदैन । अनियमितता भएकाे छैन र हुँदैन पनि । त्यस्ताे संकेत पयाैँ भनेपनि चुप लागेर बस्ने कुरा हुँदैन ।











प्रतिक्रिया