काठमाडौं, ३१ भदाै । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते काठमाडौंमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप), आईसीसी र आईसीसीद्वारा गठित स्वतन्त्र समितिका पदाधिकारीहरूबीच सोमबार सम्पन्न छलफलपछि सबैको सहमतिमा क्यान निर्वाचनको नयाँ मिति घोषणा गरिएको हो ।
छलफलमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, आईसीसीका प्रतिनिधि इमराख ख्वाजा र अमर शेखसँगै स्वतन्त्र समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
छलफलपछि असोज १० र ११ गते निष्पक्ष र पारदर्शी रूपमा क्यानको निर्वाचन सम्पन्न गर्ने सहमति भएको जानकारी छलफलमा उपस्थित स्वतन्त्र समितिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठले दिए ।
सम्बद्ध पक्षहरूबीचको यस्तो सहमतिसँगै लामो समयदेखि घरेलु क्रिकेटमा देखिएको विवाद छिट्टै समाधान हुने सम्भावना बढेको छ ।
तीन वर्षभन्दा लामो समयदेखि घरेलु क्रिकेटको नेतृत्वदायी निकाय क्यान आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि विवाद समाधान र निष्पक्ष निर्वाचन गराउन गठित स्वतन्त्र समितिले क्यानको निर्वाचनका लागि असोज ३ र ४ गतेको मिति घोषणा गरेको थियो ।
सदस्यसचिव सिलवालले स्वतन्त्र समितिले निर्वाचनका लागि राखेपसँग स्वीकृति नलिएको, २१ दिने सार्वजनिक सूचना जारी नगरेको र निर्वाचन समिति राखेपले नै बनाउनुपर्ने दाबी गर्दै असोज ३ र ४ गते हुने भनिएको निर्वाचन रोक्न मौखिक निर्देशन दिएका थिए ।
त्यसपछि क्यानको निर्वाचन स्थगित भएको थियो । क्यान राखेपमा दर्ता रहेको खेल संघ हो ।















प्रतिक्रिया