
काठमाडौँ, २७ भदौ । सप्तरी र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकमा बा.९१ प १७३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना भएको थियो ।
घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका ११ बस्ने २० वर्षीय त्रिभुवन चौधरी र २५ वर्षीय रुपेश चौधरीलाई उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजबिराजतर्फ लैजाने क्रममा दुबै जनाको बाटोमै मृत्यु भएको छ ।
यसैगरी कंन्चनरुप नगरपालिका ७ आदर्श टोलमा ना.१ क ७९८३ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री राजबिराज नगरपालिका १० बिगवा बस्ने २० वर्षीय मनोज रामको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सुनसरीको दुहबी नगरपालिका ३ मैनाबत्ती फ्याक्ट्रिस्थित सडकमा को.१ क ११८८ नम्बरको बसले को.१३ प ४७५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दुहबी नगरपालिका ४ बस्ने ३६ वर्षीय जयनारायण चौधरीको ईटहरीस्थित एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया