
काठमाडौँ २७ भदौ । इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाले पदयात्रा गरी काठमाडौंको अवलोकन गरेका छन् ।
पुरानो भित्री शहरका विभिन्न स्थानहरूको अवलोकन भ्रमण गरे । पदयात्रा अघि उनीहरुलाई हनुमानढोका दरवार क्षेत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायत विभिन्न पदाधिकारीहरूले स्वागत गरेका थिए ।
अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जी, लगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहभागी भएका ।
भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने आजै नेपाल आएका कारण टोलीमा पछि मात्रै सहभागी भएका थिए । त्यस्तै चीनको ल्हासाका मेयर गुहेओ गुहेओ पनि दूतावाससँगको विशेष छलफलमा सहभागी भएका कारण भ्रमणमा सहभागी भएनन् ।
त्यस्तै बंगलादेशको दक्षिणी ढाका नगरपालिकाका मेयर मोहम्मद सयीद खोकनले आफू डेंगु विमारीका कारण आउन नसकेको भन्दै आज विहान मात्रै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई सन्देश पठाएका थिए ।
काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्रा उनीहरुले काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार (बिकमा बहाः), थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाशभैरव, स्वेत भैरव हुँदै हनुमानढोका दरवार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
पदयात्राका क्रममा पाहुनाहरुको स्वागतका लागि अघि–अघि परम्परागत धिमे बाजा र धुन्याको समेत व्यवस्था गरिएको थियो । विदेशी पाहुनाहरूको उक्त पदयात्रालाई विभिन्न ठाउँमा स्थानीयले सगुन, फूल, अक्षता र टीका प्रदान गरी स्वागत गर्नुभएको थियो भने विभिन्न ठाउँमा स्थानीय परम्परा अनुसारका स्वागत गरिएको थियो ।

सोही अवसरमा काठमाडौँका मेयर, उपमेयरसहित विदेशी पाहुनाहरुले हनुमानढोका दरवार परिसरमा नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्लाद्वारा आयोजित इन्द्रजात्रा फोटो प्रदर्शनीको संयुक्त उद्घाटन गरेका थिए ।
भिजिट नेपाल –२०२० लाई समेत ध्यानमा राखी काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुनालाई पहिलो पटक औपचारिक रुपमा निमन्त्रणा गरेको हो ।
विदेशी पाहुनहरुसँगै करीब तीन घण्टा पदयात्रामा सहभागी हुनुभएका काठमाडौं महानगरपालिकाका मेयर शाक्यले उनीहरुलाई साथमै लिएर काठमाडौं शहर निर्माणको वास्तुशैली, संस्कृति र मौलिक सामाजिक जीवन समेत विश्वका सामू प्रदर्शन गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरे ।
उनले विदेशी पाहुना पदयात्रामा सहभागी हुँदा खुशी भएको पनि बताए । अवलोकन भ्रमणमा सहभागी भएका थिम्पूका मेयर किन्ले दोर्जीले काठमाडौंका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिए । उनले भन्नुभयो, ‘म आफू पनि बौद्धमार्गी भएकोले होला, ती बहालहरूमा पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो ।’
अमेरिकाको बोल्डर नगरबाट आएका प्रतिनिधि रोनाल्ड एडवार्ड पेरिजले अवलोकनबाट आफूले धेरै नै जानकारीहरू प्राप्त गरेकोले हिँडेको पत्तै नभएको बताउनुभयो । ‘करीब तीन घण्टा हिँडेको त मैले चालै पाइन,’ उनले मुस्कुराउँदै भने ।
हनुमानढोका दरवार क्षेत्रमा आयोजित फोटो प्रदर्शनीमा राखिएको तस्वीरमा जात्रालुहरूको भीड देखेपछि जापानको मात्सुमोटो सिटीबाट आएका प्रतिनिधि माकोतो सोनेराले जात्रामा पनि यति धेरै मान्छेहरू आउँछन् र भनी आश्चय प्रकट गरे ।
अवलोकन गरिएका विभिन्न बहाःबहीहरूमा राखिएका काठका झ्यालका कलात्मक बुट्टाहरू हातैले कुँदेका हुन् र भनी विभिन्न प्रतिनिधिहरूले ठाउँ ठाउँमा आफ्ना सहयोगीहरूलाई सोधेका थिए ।
काठमाडौंका मेयर शाक्यले विदेशी पाहुनाहरूले अवलोकन भ्रमणलाई अत्यन्त सकारात्मक रुपमा लिएकोले यसबाट देशविदेशमा नेपाल चिनाउन सहयोग मिल्ने बताए ।
चीनको लाञ्चाउबाट कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्, चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरका ४ मेयरसहित ४१ जना इन्द्रजात्रा अवलोकनका लागि नेपाल आएका छन् । उनीहरुले आजै इन्द्रजात्राको अवलोकन समेत गर्नुहुने कार्यक्रम छ ।












प्रतिक्रिया