१५ कार्तिक २०८३, आइतबार

झापाको हल्दिवारी गाउँपालिकाद्वारा १३ शिक्षकको अन्तरविद्यालय सरुवा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २६ भदौ । झापाको हल्दिवारी गाउँपालिकाद्धरा शिक्षा नियमावली २०७५ को प्रावधानअनुसार गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा गरेको छ । गाउँपालिकाले विभिन्न विद्यालयका १३ जना शिक्षकको सरुवा गरेको हो ।

गाउँपालिकाको वोर्ड बैठकले शिक्षा समितिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई अधिकार प्रदान गरेपछि समितिको भदौ २५ को बैठकले सरुवाको निर्णय गरेको हो ।

‘विषयगत शिक्षकको अभावले विद्यालयहरुको पठनपाठन प्रभावकारी हुन नसकेकाले शिक्षकको अन्तरविद्यालय सरुवा गरेका हौं’, शिक्षा समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डम्वर गिरीले बताए, ‘प्राविको दरवन्दीका शिक्षकलाई पनि माविमा पढाउन लगाउनुपर्ने अवस्था छ ।’

उनले सबै विद्यालयलाई कम्प्युटर शिक्षाका लागि उत्प्रेरित गरिरहेको बताउँदै भने, ‘अब नीतिको व्यवस्था गरेर प्रविधिसँग अपडेट नहुने प्रधानाध्यापकलाई पनि जिम्मेवारी हेरफेर गर्छौं ।’

बैठकले १३ जना विभिन्न पदका शिक्षकलाई अन्तर विद्यालय सरुवा गरेको छ । जसमा लक्ष्मी माविका शिक्षक मदन पोखरेललाई सरस्वती आधारभुत विद्यालय, लक्ष्मीकै अर्जुन भट्टराईलाई दीपेन्द्र प्रावि, लक्ष्मीकै बोधकृष्ण पौडेललाई महेन्द्र माविमा सरुवा गरिएको छ ।

पञ्चायत माविका छविलाल गणेशलाई लक्ष्मी मावि, दीपेन्द्र प्राविकी सविना भट्टराईलाई लक्ष्मी मावि, रामेश्वर प्राविका सुर्यप्रसाद घिमिरेलाई सरस्वती आधारभुत विद्यालय, रामेश्वरकै भानुभक्त न्यौपानेलाई शान्ति प्राविमा खटाइएको छ ।

बैठकले महेन्द्र माविका लोकप्रसाद भण्डारीलाई लक्ष्मी मावि, सरस्वती आधारभुतका मेनुका शर्मालाई रामेश्वर प्रावि, सरस्वतीकै दीलकुमारी विष्टलाई पनि रामेश्वर प्रावि, सरस्वतीकै माया सुवेदीलाई लक्ष्मी मावि र सरस्वतीकै चिन्तामणि भट्टराईलाई दीपेन्द्र प्रावि तथा लक्ष्मी माविका शिवनाथ पाण्डेलाई पञ्चायत माविमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

झापामा स्थानीय तहले शिक्षकलाई यति ठुलो संख्यामा अन्तर विद्यालय सरुवा गरेको यो पहिलो पटक हो । हल्दिवारी गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि घुम्ती रुपमा काम गर्ने गरी खेल शिक्षक, योग शिक्षक, कम्युटर शिक्षक व्यवस्था गरी बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान केन्द्रित गरेको छ ।

दिपेन्द्र प्राविमा मेचे भाषाको अध्ययन कक्षा सञ्चालन गराएको छ । त्यस्तै, बाल शिक्षक लगायतलाई प्रोत्साहन रकम प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

गाउँपालिकाले गरेको यो निर्णयलाई स्थानीय वुद्धिजीवीहरुले निकै स्वागतयोग्य भनेका छन् । निजामतीलगायत अन्य कर्मचारीको सरुवा भइरहेको अवस्थामा शिक्षकहरुको सरुवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन आउने सरोकारवालाको ठम्याइ रहेको छ ।

शिक्षकहरुलाई सक्रिय बनाउन, प्रविधिको सदुपयोगसँगै अध्यापन गराउन, कक्षाकोठामा सिक्ने वातावरणको तयार गर्न यस किसिमको सरुवाले सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ ।