
काठमाडौं, २४ भदौ । विश्वकप फुटबलको छनौट चरणको दोस्रो खेलमा नेपालले चाइनिज ताइपेविरुद्ध गतिलो जीत निकालेको छ । जसले कुवेतसँग व्यहोरेको निमिठो हारमा मल्हम लागेको छ ।
मंगलबार ताइपेको घरेलु मैदानमा नेपालले २–० को जीत निकालेको हो । जसमा अञ्जन विष्टको योगदान रह्यो । ताइपे रंगशालामा भएको खेलमा विष्ट प्लेइङ ११ मा परेका थिए ।
विक्रम लामालाई बेञ्चमा राखेर उनलाई खेलाइएको थियो भने सुमन अर्याल र अजित भण्डारीको ठाउँमा रञ्जित धिमाल र दिनेश राजवंशीलाई खेलाइएको थियो । प्रशिक्षक योहान कालिनले खेलाडी फेरे पनि खेल फरम्याट फेरेका थिएनन् । उनले १–४–५–१ कै फरम्याट शैलीमा खेलाएका थिए ।
नेपालले खेलको तीन मिनेटमा नै अग्रता लिनका लागि सुजल श्रेष्ठले डिबक्स भन्दा केही बाहिरबाट हानेको फ्रि किकमा विष्टको हेडिङ गोलले काम गरेको थियो ।
खेलको उत्तरार्धमा नेपाल फेरि चम्किनका लागि ६४ मिनेटमा विष्टको अर्को योगदान रह्यो । यसपटक भने रवि पासवानले प्रहार गरेको बलमा सुजलले हेडमार्फत पास मिलाएको बललाई विष्टले जाली चुमाइदिए ।
नेपालले छनोट चरणको खेलमा तीन अंक बनाएको छ ।















प्रतिक्रिया