
काठमाडौँ, २४ भदौ । प्रदेश २ सरकारले तीन दिने कार्यक्रम आयोजना गरी संविधान दिवस भव्यरुपमा मनाउने भएको छ । प्रदेश २ को मन्त्रिपरिषद् बैठकले तीन दिने कार्यक्रम तय गरी धुमधामका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।
प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने संविधान दिवसलाई कालो दिनका रुपमै मनाउने निर्णय गरिसकेको छ ।
मुख्यमन्त्री लालबाबु राउत नै संविधान दिवस मनाउन अघि सरेपछि सत्तारुढ दल दुई कित्तामा विभाजित भएका हुन् ।
मुख्यमन्त्री राउतलगायत समाजवादी पार्टीबाट मन्त्री बनेकाहरु संविधान दिवस मनाउने पक्षमा छन् भने सत्ता सहयात्री राजपा नेपालका मन्त्री संविधान दिवसका दिन ‘विरोध दिवस’ मनाउने अडानमा छन् ।
राजपा नेपालले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपा नेपालका मन्त्रीसमेत पार्टीकै लाइनमा उभिने भएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संविधान दिवसका अवसरमा पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र ड्रग्स नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, दोस्रो दिन असोज ३ गते सरकारी कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
नेपालको संविधानसँग पूर्णरुपले सन्तुष्ट नभए पनि संविधानले केही हकअधिकार प्रदान गरेको हुँदा भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए ।











प्रतिक्रिया