१२ मंसिर २०८३, शनिबार

चिनियाँ विदेशमन्त्रीविरुद्ध प्रदर्शन गर्ने नौ जना महिला पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध प्रदर्शन गर्ने नौ जना महिला पक्राउ परेका छन् ।

सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनीमा प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी २२ वर्षीय सीता ज्योती, नवलपरासी घर भई काठमाडौंको जडिबुटी बस्ने ३० वर्षीय उर्मीला पन्थी, ललितपुर लगनखेल बस्ने ३३ वर्षीय शोभा डंगोल रहेका छन् ।

यस्तै, सलार्ही घर भई हाल जडिबुटी बस्ने २५ वर्षीय पुनम ठकुरी, तेह्रथुम घर भई हाल कोटेश्वर बस्ने ३२ वर्षीय मीना श्रेष्ठ, सुनसरीकी ४० वर्षीय निर्मला ठकुरी, किर्तिपुर बस्ने ४५ वर्षीय उमा बुढाथोकी पनि पक्राउ परेका छन् ।

त्यसैगरी,  काभ्रेपलाञ्चोक घर भई भक्तपुर बस्दै आएकी गीता भण्डारी र धापाखेल ललितपुरकी ४४ वर्षीय तेजकुमारी थापा पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

नेपाली चेलीबेटी चीनमा बेचबिखन भइरहेको भन्दै महिलाहरुको एक समूहले ‘चेलिबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका प्लेकार्डसहित विरोध–प्रदर्शन गरेको छ।

प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ । चीनका विदेशमन्त्री वाङ यीको भ्रमणको सन्दर्भ पारेर महिलाहरू प्रदर्शनमा उत्रेका हुन् । राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको क्रममा वाङ आइतबार तीन दिने नेपाल भ्रमणमा आएका छन् ।