१२ मंसिर २०८३, शनिबार

आजदेखि काठमाडौँमा ‘बिजुली बस’ सरर

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आएको छ । आजदेखि सुन्दर यातायात प्रालिले पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो ।

ठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय बसको औपचारिक रुपमा उद्घाटन गरे ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्ने कम्पनीका अध्यक्ष थापाले जानकारी दिए ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

यी बसहरु चीनको बिएके कम्पनीबाट खरिद गरी ल्याएका हुन् । बिएकेले उत्पादन गरेका विद्युतीय बस सुन्दर यातायातले प्रति एकाई १ करोड ६२ लाख रुपैयाँमा खरिद गरेको हो ।

आज उद्घाटन गरिएका बसमा एउटामा ३५ र अर्कोमा ४० सीट रहेको छ । उभिएर एउटा बसमा ६५ देखि ७० यात्रु अटाउन सक्ने कम्पनीले बताएको छ । चार्जिङका लागि भत्केको पुल, सीतापाइला र सुकेधारामा चार्जिङ स्टेशन स्थापना गरिएको छ ।

करिब २ घण्टामा एउटा बस फुल चार्ज गर्न सकिने र एक पटकको चार्जले करिब ३ सय किमिसम्म सञ्चालन हुने बताइएको छ । विद्युतीय बस सञ्चालनका हिसाबले अन्य बसभन्दा सस्तो पर्ने छ ।

विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछन् । काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति पाएको कम्पनीका अध्यक्ष थापाले बताए । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको अध्यक्ष थापाले जानकारी दिए ।

सुन्दर यातायातले ल्याएका विद्युतीय बस नेपाली बाटो अनुकुल रहेको दाबी कम्पनीको छ । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ ।

कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन् । यो प्रणाली हाल परीक्षणका क्रममा छ ।

डिजेलबाट चल्ने बसको तुलनामा विद्युतीय बसको सञ्चालन खर्च सस्तो हुने भएकाले सुन्दर यातायातले हाल काठमाडौंमा डिजेल बसले लिने भाडाभन्दा कम भाडामा यातायात सेवा दिने जनाएको छ । कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।