
काठमाडौँ, २२ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडाैँ आइपुगेका छन् । वाङ निजी विमानबाट पाकिस्तानको इस्लामवाद हुँदै नेपाल आएका हुन् ।
उनी साँझ ट बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । खराब मौसमका कारण उनको आगमन करिब २० मिनेट ढिला भएको थियो । भिजिविलिटी कम भएपछि उनको विमानले नेपाली आकाशमा होल्ड हुनुपरेको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा आएका चिनियाँ समकक्षी वाङको तीन दिने औपचारिक भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण र त्यसका एजेन्डा निर्माणमा समय खर्चिने बताइएको छ ।
भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भोलि दिउँसो ३ : ३० देखि ४ :३० सम्म दुवै वाङ र ज्ञवालीबीच भेटवार्ता हुनेछ ।











प्रतिक्रिया