
काठमाडौँ, २२ भदौ । काठमाडौँमा हुने लुटपाटमा सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तादेखि सेनाका भगौडासम्मको गठजोड हुने गरेको रहस्य खुलेको छ ।
काठमाडाैं माछापाेखरीबाट शनिबार साँझ हतियारसहित पक्राउ परेकाे नाै जनाकाे समूह सेना, प्रहरी र विप्लव समूहसँग सम्बन्धित रहेकाे खुलेकाे हो । प्रहरीका अनुसार याे समूहले रसुवाबाट भित्रिने सुन लुट्ने याेजना बनाइरहेकाे थियाे ।
काठमाडौं महानगर १६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टाेलीले शनिबार साँझ पक्राउ गरेको थियाे ।
पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका ७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका १० का २५ वर्षीय धर्मराज तामाङ रहेका छन् ।

यसैगरी, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका ५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका ४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका ५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका ६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २८ वर्षीय राजन तामाङ रहेका छन् ।
प्रहरीका अनुसार याेर्साङ घले विप्लवका लडाकु हुन् भने कुशल अधिकारी सेनाका भगाैडा हुन् । त्यस्तै युवराज भण्डारी सशस्त्र प्रहरी जवान हुन् । घले समूहका नाइके रहेकाे खुलेकाे छ । यस्तै रामबहादुर तामाङ, धर्मराज तामाङ, विजय तामाङ र पिटर तामाङ हाइ रेस्टुरेन्टका संचालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूका साथबाट चाइनिज पेस्तोल २ थान, सो पेस्तोलको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ४ राउन्ड समेत बरामद गरेको छ । परिसरका एसपी अशाेक सिंहका अनुसार बरामद दुवै हतियार नेपाल प्रहरीले प्रयाेग गर्छ ।
प्रहरीका अनुसार बर्दघाटका याेगेश बिकलाइ माछापाेखरीकै हाेटल मुस्ताङमा लुटेपछि याे समुहकाे खाेजी सुरू भएकाे थियाे । परिसरकाे विशेष टाेलीले क्लाेज सर्किट क्यामरामा देखिएकाे तस्बिरका आधारमा याे समूहका एकजनालाई सुरूमा र पछि उनकै सूचनापछि थप पक्राउ परेका एसपी सिंहले बताए ।

उनीहरुको साथबाट नक्कली सुन १ केजी, फलाम काट्ने औजार १ लुटिएका पर्स, एटीएम कार्ड र मोबाइल २ थान समेत बरामद गरेको प्रहरीले बताएको छ । यसैगरी लुटिएको झोला, ७ थान मोबाइल र ४ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया