
काठमाडौं, २२ भदौ । गएको चुनावअघि नेपाल सरकारको गृह मन्त्रालयले देशका सबैजसो जिल्लामा रहेका अवैध हतियार बुझाउनका लागि अफर गरेको थियो । त्यसमा दिइएको खास अफरचाहिँ प्रशासनमा त्यस्ता हतियार बुझाए कारबाही नहुने जनाइएको थियो ।
अपेक्षित रूपमा त्यस्ता हतियार राज्यको नियन्त्रणमा आएनन् । चुनाव ताका विविध ठाउँमा भएका घटनामा त्यस्तै हतियारको प्रयोग गरी केही घटना भएका थिए ।
यसलाई पुष्टि गर्ने आधार नवलपरासी र रुकुमको गत बर्षको विवरणलाई मात्र पनि लिन सकिन्छ ।
नवलपरासी प्रशासनबाट तीन सय ३५ जनाले हतियार राख्ने इजाजत लिएका थिए । १ साउन २०७४ देखि वैशाख, २०७५सम्म एक सय १४ जनाले मात्र नवीकरण गराएका थिए । नवीकरण नगराएका २ सय २१ हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे प्रशासनलाई जानकारी छैन । इजाजत लिएका हतियारमा सबैभन्दा बढी ‘१२ बोर’ नामका दुई सय ४२ थान बन्दुक थिए । २८ थान नाम नखुलेका हतियार छन् । ‘कटुई’ २५ थान, ‘२२ बोर राईफल’ १५ थान, ‘ब्रिज लोड’ १२ थान,‘टोटा’ ५ थान, ‘भरुवा’ ४ थान छन् । त्यसैगरी ‘मेनियर’, ‘प्वाइण्ट २२ बन्दुक’ ‘एयर गन हवाई बन्दुक’, ‘२०५१ बोर’ नामका एक÷एक थान हतियार प्रशासनको इजाजतमा नै लगिएको थियो ।
नविकरण नभएकाबाहेकको जानकारी प्रशासनमा हुने कुरा नै भएन ।
द्वन्द्वको समय र चुनावको समयमा सरकारको निर्देशन अनुसार हतियार संकलन गरिएको थियो । २०७० सालको निर्वाचनमा ४२ थान बुझाइएकोमा २१ थान फिर्ता लगेका छन् । त्यसैगरी २०७४ सालको निर्वाचनमा २१ थान बुझाइएको थियो । जसमा १८ थान फिर्ता लगेका थिए ।
अवैध हतियारको प्रयोग बलियो हुने प्रमाणका रुपमा राज्यले रुकुममा संकलन गरेको एउटा विवरणले देखाउँछ ।
रुकुम जस्तो विकट जिल्लाबाट प्रशासनले ५६ थान अवैध हतियार संकलन गरेको थियो । यो गएको चैतसम्मको विवरण हो । समयसीमाभित्र ३३ र समुदाय प्रहरी साझेदारी अभियानका क्रममा ३३ वटा हतियार संकलन गरेको थियो ।
‘अवैध हतियार यति मात्र होइन अरु पनि हुन सक्छन् । एउटा जिल्लामा मात्र हैन, अनेक जिल्लामा यस्ता हतियार छन् जसको विवरण र लगतमा पनि समस्या जस्तो देखिएको छ’, गृह मन्त्रालय स्रोतले भन्यो ।
गुन्डागर्दी, डकैती मात्र होइन, हतियारको राजनीति गर्नेहरूका लागि पनि यस्ता हतियार काम लाग्दै आएका छन् । जसले केही मानवीय क्षति भइरहेका छन् भने कतिपय धम्की र त्रासको शिकार पनि भइरहेका छन् ।
लागि विभिन्न ठाउँमा प्रतिबन्धित नेकपा विप्लव समूहसँग भएका दोहोरो भिडन्त पनि अर्को उदाहरण हुन् । प्रहरीका अनुसार विवरणमा नरहेका अवैध हतियार विप्लव समूहसँग धेरै नै रहेका छन् ।
नेपालमा यस्ता हतियार सहज रुपमा भित्रिने कारण भारतसँगको खुला सीमाको उपयोग ज्यादा देखिन्छ । द्वन्द्वका बेला तत्कालिन माओवादीले पुरै हतियार राज्यलाई नबुझाएका कारण पनि ति हतियारको प्रयोग अहिले भइरहेको छ । कतिसम्म भने, विश्वमै घातक मानिने एके ४७ सम्मका हतियार अहिले सरकारको वैधानिकताबाहिर अनेक हतियारधारी समूहसँग रहेको प्रक्षेपण गरिएको छ ।
त्यतिमात्र नभएर कतिपय हतियार सरकारको अनुमतिका आधारमा नै राखेका व्यक्तिहरूले नविकरण नगराएको, हराएको विवरण दिने गरेका छन् । ति हतियारको पनि विविध समूहले दुरुपयोग गर्दै आएको बताइन्छ । बेलामौका गृह मन्त्रालय र माथाहतका निकायले ३५ दिनको सूचना दिएर हतियार बुझाउन भनिए पनि भनेजति हतियार सरकारको नियन्त्रणमा आउन सकेका छैनन् ।
‘माओवादीकालमा हराएका भनिएका, सरकारले नै अनुमति दिएका र धेरै जसो खुला सीमाबाट साना र ठूला हतियार भित्रिएका कारण नेपालमा अवैध हतियारको संख्या यकिन हुन सक्ने अवस्था छैन’, गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘त्यस्ता हतियार सरकारको निगरानीमा नुहुनु, नियन्त्रणमा नआउनुका कारण कतिपय हतियारधारी समूहका लागि फाइदा भएको बुझ्न सकिन्छ । अहिले नेपालमा रहेका केही हतियारधारी राजनीतिक समूहले पनि त्यस्ता हतियार प्रयोग गरेका हुन सक्छन् ।’











प्रतिक्रिया