१२ मंसिर २०८३, शनिबार

प्रेम, प्रतिशोध र पीडा दिने नियतमा हुन्छन् एसीड आक्रमण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । किशोरी तथा युवतीहरूमाथि हुने एसीड अर्थात् तेजाब प्रहार ‘बलात्कार’ भन्दा पनि दर्दनाक पीडादायी हुने गरेको छ । यस्ता आक्रमणले जीवन बर्बाद मात्र होइन, किशोरीहरूलाई कुरुप समेत बनाउने गरेको छ ।

किशोरी तथा युवतीहरू सौन्दर्यप्रति सजग हुने भएकाले उनीहरूमाथिको यो आक्रमण भौतिक मात्र नभएर मनोवैज्ञानिक पीडा दिने नियतका आधारमा पनि हुने गरेको देखिएको छ ।

शुक्रबार पर्साको वीरगञ्ज महानगरपालिकामा दुई १६ बर्षीय किशोरहरूले एक १५ बर्षिया किशोरीमाथि यस्तै पीडा दिए ।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया–३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गरियो ।

गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको छ । एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एसीड आक्रमणको घटना यसअघि पनि निरन्तर आइरहेको थियो । रौतहटको चन्द्रपुर–६ मा २६ भदौमा परेका दिदीबहिनीलाई एसीड आक्रमण भएको थियो । १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे एसिड आक्रमण भएको थियो ।

अघिल्लो बर्षको तीजको अघिल्लो दिन साँझ परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गएका थिए । घरमा आमा र कान्छी बहिनी पनि थिए । बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ (पुलहाउस) कुर्न गएका थिए ।

बुबा जादोरलाल घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिंदै थिए । के भएको भनेर उनलाई थाहा थिएन ।

हालै मात्र राजधानीको कालोपुलमा आफ्नै पतिले पत्नीमाथि एसीड प्रहार गरेको घटना र विवरण आएको थियो । त्यसअघि बसन्तपुरमा तीन जना किशोरीमाथि भएको एसीड आक्रमणको घटना चर्चित थियो । जसबारे निक्कै बहस हुनुका साथै राजनीतिकर्मीलाई कानुन निर्माणका लागि सदनमा दबाब समेत परेको थियो ।

प्रेम, प्रतिशोध र नियतका आधारमा एसीड आक्रमण हुने गरेको घटनाका कारणहरूले खुलाउने गरेका छन् । शुक्रबार खातुनमाथि भएको आक्रमणको प्रारम्भिक अनुसन्धानले पनि त्यहि देखएको छ । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको थियो । उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उता, अन्य आक्रमणहरूका कारण पनि यस्तै यस्तै नै रहेको खुलेको थियो । यस्ता प्रकारका आक्रमण रोक्नका लागि कानुनमा नै कडा व्यवस्था हुनुपर्ने माग उठेको थियो ।

कतिपय अधिकारकर्मीले महिलालाई हुने बलात्कार भन्दा पनि पीडादायी घटना एसीड आक्रमण रहेको व्याख्या गरेका छन् । ‘बलात्कारले भित्र भित्र पोल्छ तर त्यसलाई सम्हाल्न सकिन्छ की भन्ने हुन्छ । तर एसीड आक्रमणले पोल्नेमात्र होइन, कुरुप पनि बनाउँछ । जसले जीवनभर महिलालाई पीडामा राख्छ’, एक अधिकारकर्मी बताउँछिन् ।