२८ आश्विन २०८३, बुधबार

स्त्री रोग उपचारमा ‘ल्याप्रोस्कोपी’ विधि बरदान हो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पनि स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपी (दूरबिनबाट गरिने) सर्जरीको शुरुआत भएको छ । विश्वका अन्य देशमा धेरै पहिलेदेखि नै प्रयोगमा भए पनि नेपालका लागि भने यो नयाँ प्रविधि हो । यो प्रविधिको शुरुआत जर्मनीबाट भएका हो । यस प्रविधिमा भएका लगातार अध्ययन–अनुसन्धानबाट पेट चिरेर गर्ने शल्यक्रिया भन्दा यो विधि सजिलो र भरपर्दो हो भनेर सिद्ध भएको छ । पेटबाट बच्चा निकाल्ने बाहेक अन्य सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरी माध्यमबाट गर्न सकिन्छ । पेटमा स–साना घाउ बनाइ फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन)को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । यस विषयमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रंगिना शाहसँग गरिएको कुराकानी :

ल्याप्रोस्कोपी सर्जरी महिलाहरूमा कसरी गरिन्छ ?

पुराना प्रविधिबाट अप्रेशन गर्दा बिरामीलाई बेहोश पारेर जुन अङ्गमा ट्युमर वा समस्या छ, त्यसको माथि १० सेन्टिमिटर चिरेर गरिन्छ । छालाका ४–५ तहलाई चिर्दै उपचार गर्नुपर्ने अङ्गसम्म पुगेपछि हातले औजारहरू चलाएर अप्रेशन गरिन्छ । ल्याप्रोस्कोपी सर्जरीलाइ कि होल सर्जरी पनि भनिन्छ । यो प्रविधिमा दुर्विन र औजारका माध्यमले रोगको पहिचान तथा उपचार गर्न सकिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइअक्साइड वा अन्य हावाका प्रयोग गरिन्छ भने उज्यालोका लागि प्रकाश पठाइन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटो छेउमा सानो प्वाल बनाइन्छ । समस्याग्रस्त भित्री अङ्गहरू हटाउने उपकरण र रक्तस्राव रोक्ने औषधि पठाउन पेटको तल्लो भागमा दुईतिर अन्य स–साना प्वालहरू बनाइन्छ । अप्रेशन गर्ने अङ्गमाथि १ सेन्टिमिटरको प्वाल पारेर क्यामरा छिराइन्छ । पेटभित्रका अङ्गको अप्रेशन गदा पेटभित्र छिराइएका क्यामेरा घुमाएर सब अङ्गका अवस्था हेरिन्छ । त्यसपछि अप्रेशन गर्ने अङ्गको माथि अरू आधा–आधा सेन्टिमिटरका दुई÷दुईओटा प्वाल पारेर औजारहरू छिराएर अप्रेशन गरिन्छ ।

महिलाका कस्ता–कस्ता स्वास्थ्य समस्यामा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्न सकिन्छ ?

पेटबाट बच्चा बाहिर निकाल्ने बाहेक महिलाका अन्य सब जसो स्वास्थ्य समस्यामा यो विधिबाट शल्यक्रिया गर्न सकिन्छ ।
पाठेघरमा ट्युमर पलाउँदा तथा एउटा निश्चित उमेरपछि हार्मोनको गडबडीले महिलाको पाठेघरबाट धेरै रगत बगेमा ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट उपचार गर्न सकिन्छ । त्यस्तै, डिम्बमा ट्युमर पलाएको, पाठेघरमा बच्चा नबसेर डिम्ब वा नलीमा बच्चा बसेको छ भने पनि ल्याप्रोस्कोपी सर्जरीबाट उपचार गर्न सकिन्छ । निःसन्तान, जीर्ण प्रकारका तल्लो पेट दुखाइ, तल्लो पेटमा मासु वा डल्लो पलाएको, महिनावारीमा तल्ला पेट दुख्ने समस्या, महिलाको स्थायी बन्ध्याकरण, तथा पाठेघरमा हुन सक्ने विकृति पत्ता लगाउने जस्ता स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या निदानमा पनि ल्याप्रोस्कोपी प्रविधिको प्रयोग हुन्छ ।

महिलाहरूमा पाठेघरका ट्युमर कसरी हुन्छ ?

महिलाहरूमा इस्ट्रोजोन र प्रोजेस्ट्रोन हार्मोन बढि मात्रामा उत्पादन भएमा पाठेघरका ट्युमर हुने सम्भावना रहन्छ । ३५ देखि ४५ वर्ष उमेर समूहका महिलाहरूमा या समस्या देखिने गरेका छ ।

कस्ता महिलाहरूमा पाठेघरका ट्युमर हुने सम्भावना बढि हुन्छ ?

वंशानुगत जस्तो : आमा, दिदी, बहिनीहरूमा ट्युमर देखिएको छ भने, अविवाहित तथा निःसन्तान महिलाहरूमा पनि पाठेघरका ट्युमर हुने सम्भावना बढि देखिन्छ । मोटोपना पनि यसका कारण हुन सक्छ त्यस्त पाठेघरको ट्युमर हुँदा गर्भ रहन गएमा ट्युमर बढ्ने सम्भावना रहन्छ ।

ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया कत्तिको सुरक्षित छ ?

अधिकांश नारीहरूमा या प्रविधिको बारेमा अनभिज्ञताले गर्दा सुरक्षाका प्रश्नहरू आउने गर्दछ । यो प्रविधि रोगको उपचारमा पछिल्लो पटक भित्रिएको एकदमै भरपर्दो र सुरक्षित प्रविधि हो । उच्च गुणस्तरका क्यामराका सहायतामा टिभीस्क्रिनमा हेरेर गरिने शल्यक्रिया भएकोले पुराना विधिबाट गरिने शल्यक्रिया भन्दा यो विधि भरपर्दो र सुरक्षित छ ।

ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरू के के छन् ?

यो विधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटर र दुई तीन वटा आधा सेन्टिमिटरका प्वाल मात्र पार्नु पर्दछ । जसले गर्दा बिरामीलाई दुखाई कम हुने, रगत धेरै नजाने हुँदा रगत दिन पर्ने सम्भावना अत्यत्न न्युन हुने, घाउ सानो भएकोले चाडै सन्चो हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी उठेर हिँडडुल गर्न सक्ने भएकोले अस्पतालबाट चाडैं डिस्चार्ज हुन पाइने तथा छिटो भन्दा छिटा आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । घाउ सानो हुने भएकोले एन्टिवायोटिक र नदुख्ने औषधी पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि
घाउको दाग चिरेको भन्दा निकै कम देखिन्छ । हेमोग्लोबिनका समस्या भएका बिरामीहरूका लागि त यो विधि अति उपयुक्त छ । उपचारका दौरानमा धेरै परामर्श गर्नुपर्ने भएकोले यो प्रविधिमा बिरामी र उनका परिवारसँग चिकित्सक टोलीको सम्बन्ध प्रगाढ बन्छ । यो प्रविधिको अर्को फाइदा के पनि छ भने, क्यामरा प्रोजेक्टरबाट उपचार कार्य बाहिर देखाउन मिल्ने हुनाले चिकित्सा विज्ञानका विद्यार्थीलाई शल्यक्रिया कक्षमा लगेर सिकाउनुपर्ने बाध्यता हुँदैन । यसबाट शल्यक्रिया कक्षमा अनावश्यक घुइँचो र संक्रमणको सम्भावना नहुनुका साथै बिरामीका आफन्तहरूले पनि शल्यक्रिया प्रक्रियाको प्रत्यक्ष प्रसारण वा भिडिया रेकर्ड हेर्न पाउँछन् ।

नेपालमा ल्याप्रोस्कोपी प्रविधिको अवस्था कस्तो छ ?

नेपालका ल्याप्रोस्कोपी प्रविधि भित्राउन सरकारी तथा निजी क्षेत्रबाट कम पहल भइरहेको छ जसले गर्दा हजारौं महिलाहरू मित्रराष्ट्र भारत तथा अन्य मुलुकमा पुगेर यो प्रविधिबाट महंगो सेवा लिइरहेका छन् । यस्तो अवस्थाको न्युनिकरणका लागि हाल नेपालका सीमित अस्पतालहरूमा मात्र यो सेवा पाइने भएकोले नेपालका धेरै अस्पतालमा सेवा विस्तार गर्नुपर्ने आवश्यक छ । यसका लागि सरकारले पनि सरकारी तथा नीजी अस्पतालका डाक्टरहरूलाई विदेश वा नेपालमै तालीम लिन व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।