
काठमाडौँ, १५ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर ईतिहासमा फड्को मारेको सुनाए ।
त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस् वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौँ ।’
उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानुन बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको सुनाए । उनले भने, ‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन । यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित हुँदैन ।’
उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए ।
मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए ।
उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तीव्र गतिमा काम गरेको ईतिहास नभएको जिकिर गरे । यद्यपी, उनले जनताले चाहेको जस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए ।
उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकताअनुसार हुँदै जाने बताए ।
उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सक्रिय रुपमा काम गरेको अवस्था सुनाए । उनले भने, ‘अख्तियारले अहिले सक्रिय भएर काम गरेको अवस्था छ । अख्तियारको थुनुवा कोठा अहिले सबै भरिभराउ छन् । सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको छ । दोषी जो भएपनि सरकार कारबाही गर्न पछि हट्दैन ।’
उनले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए । उनले भने, ‘अहिले कर्मचारीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन । हामी छलफलकै क्रममा छौं ।’











प्रतिक्रिया