
प्युठान, १५ भदौ । जिल्लाको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलीले आफ्नो पदको दुरुपयोग गर्दै हाजिरी पुस्तिकामा केरमेट गरि भत्ता बुझेका छन् ।
आर्थिक वर्ष २०७५/0७६ को पुस ४ र ६ गतेको हाजिरी केरमेट गरि कार्यालयबाट उनले सात हजार दुई सय रुपैयाँ भत्ता भुक्तानी लिएका हुन् । हाजिरी पुस्तिका या बिलमा केरमेट गर्न नपाइने नीतिगत व्यवस्था भएपनि ओलीले त्यसको वेवास्ता गर्दै हाजिरी पुस्तिकामा टिपेक्स प्रयोग गरेको पाइएको हो ।
यद्यपी, अधिकृत ओलीले आफू फिल्डमा गएको तर, त्यसैदिन भुलवस हाजिर गर्न पुगेको उनले प्रतिक्रिया दिए । ‘यो त्यति ठूलो कुरा होइन’, उनले भने, ‘भुलवस हाजिरी केरमेट भएको हो ।’
गाउँपालिकाले कार्यालय संचालनका लागि भाडामा लिइएको कोठा अधिकृत ओलीले आफ्नो निवासको रुपमा प्रयोग गर्दै आएका छन् । यसअघि जुनियर कर्मचारीलाई निमित्त दिएर सिनिएर कर्मचारीको अपमान गरेको भन्दै उनको कर्मचारी वृतभित्रै आलोचना भएको थियो ।

यतिमात्र हैन सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै उनले गाउँपालिकाका परिचरलाई आफ्नो भान्सेको रुपमा प्रयोग गर्दै आएका छन् ।
समृद्ध पालिका बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने प्रमुख प्रशासकिय अधिकृतले गाउँपालिका अध्यक्षको आडमा स्थानीय तहमा मनपरी गरेको स्थानीयको आरोप छ ।
सार्वजनिक कार्यक्रममै अध्यक्षले ‘डायानामिक हाकिम’ भनेर उछालेपछि हाकिमको बिलासी र भड्किलो रवाफले प्रश्रय पाएको स्थानीयको आरोप छ ।
ओली सरुमारानिमा सरुवा भई आए लगत्तै नागरिकले बारम्बार असन्तुष्टि जनाउँदा समेत जनप्रतिनिधीहरु मुकदर्शक भएर बसेका छन् ।
उनले बैंकसँगै जोडिएको निवासमा पटक–पटक कर्मचारी सहित साँझको समयमा नाचगान र भोजभतेर समेत गर्ने गरेका छन् ।











प्रतिक्रिया