खरसाङ । ‘‘गाउ स्वर खोलेर दिदी र बहिनी नाचौँ न मिलेर दामली शैली…तीजैको रहर आयो बरीलाई तीजैको रहर आयो वरीलाई…’’ दीपा नारायण झा र पुर्णिमा श्रेष्ठ (सुष्मा श्रेष्ठ) ले गाएका कन्यादान चलचित्रको यो गीत शर्मिला रसाइलीले गाउॅंदा सबै महिलाहरू सम्पूर्ण वर्षभरिको थकान र तनावहरूलाई बिर्सेर रमाउॅंदै नाचे ।
यससमय सम्पूर्ण दार्जीलिङ पहाड तीजमय वातावरणमा डुबेको छ। पहाडका विभिन्न ठाउॅंहरूमा तीजका रमाइला कार्यक्रमहरूसॅंगै तीजका गीतहरू गुञ्जीइरहेका छन्। यसपाली तीजको कार्यक्रम ‘महिला सशक्तिकरण’लाई प्रमुखता दिएर आयोजना गरिएको थियो। खरसाङको गिद्द पहाडस्थित मन्दिर बस्तीको सीताराम स्वनिर्भर समूहको आयोजनामा सो कार्यक्रम खरसाङ बजारको सार्वजनिक भवनमा सम्पन्न भएको थियो ।
अल इण्डिया रेडियो खरसाङकी समाचार वाचिका एवं कवि उषाकिरण सत्यदर्शीले संचालन गरेकी कार्यक्रममा दार्जीलिङ पहाडी भेकका सुपरिचित सामाजिक कार्यकर्त्ता शशी योञ्जन, गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन् (जीटीए) की सभासद् श्रीमती जैतुनिशा हुसेन, गोर्खा सांस्कृतिक संस्थानकी सचिव श्रीमती आशा मुखिया लामा, आप्पा चलचित्रकी
नायिका सुश्री अलोमा काबु लेप्चा थिइन् ।
कार्यक्रममा सविता कार्कीले तीजको महत्त्व बारेमा संक्षिप्तमा वार्ता प्रस्तुत गरिन्। महिला सशक्तिकरण बारेमा अन्तरक्रियात्मक कार्यक्रममा आजसम्म पनि लिङ्भेद समाप्त हुनसकेको छैन भन्ने कुरा यस कार्यक्रममा उठेको थियो ।
अहिलेको आधुनिक युगमा महिलाहरू धेरै अघि बढेर विभिन्न क्षेत्रमा प्रगति गर्न सक्षम भए पनि पुरूषप्रधान समाज अझ पनि कायम नै रहेको भन्ने मन्तव्यहरू प्रकट भयो। चर्चित चलचित्र ‘आप्पा’ की नायिका सुश्री आलोमा काबु लेप्चाले महिलाका उत्पत्ति बारेमा खुबै रोचक रूपमा उजागर गरिन् ।
तीजको यस रमाइलो कार्यक्रममा भारतीय नेपाली समाजका सुपरिचित लोक गायिका श्रीमती सुचिता खातीले सबैको मनै छुने महिला सशक्तिकरणमाथि आधारित लोकगीत गाइन्। यताका सुपरिचित नृत्य प्रशिक्षिका सुश्री अर्पिता दासकी टोलीले नेपाली लोकनृत्य साथै भरतनाट्यम नृत्य प्रस्तुत गरिन् ।















प्रतिक्रिया