११ कार्तिक २०८३, बुधबार

आन्दोलनमा सरकारको हस्तक्षेपविरुद्ध लड्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, ११ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई आन्दोलन सफल पार्न निर्देशन दिनुभएको छ ।

सरकारी पक्षबाट हुने हस्तक्षेपको कडा प्रतिवाद गर्न तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिनुभएको हो । सत्तापक्ष दलहरुले बहुमतीय प्रक्रिया नरोकेकाले फागुन १६ को आन्दोलन सहमतिको संविधानका लागि निर्णायक आन्दोलन हुने उहाँको भनाई छ ।

ललितपुरको खन्ना गार्मेन्टमा सोमबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वार्ताका लागि प्रधानमन्त्रीले देखाएको जस्तै सक्रियता संस्थागत रुपमा नेपाली काँग्रेस र नेकपा एमालेले देखाउनुपर्नेमा जोड दिनुभयो ।

संविधान लेखन प्रक्रिया बहुमतको आधारमा अगाडि बढेको इतिहास कहीँ कतै पनि नभएको उल्लेख गर्दै उहाँले बहुमतीय प्रक्रिया रोकेर सहमतिको आधारमा अगाडि बढाउने विश्वासिलो प्रतिबद्धता आए आफूहरू संवादका लागि तयार रहेको बताउनुभयो ।

आन्दोलन आफूहरूका लागि बाध्यता बनेको उल्लेख गर्दै उहाँले विगतका सहमति र सम्झौता मान्दैनौँ र चिन्दैनौँ भन्ने सत्तारुढ दलको प्रवृत्ति मुलुक र जनताको हितमा नरहेको धारणा राख्नुभयो ।

एमाओवादी पद र प्रतिष्ठाका लागिभन्दा पनि मुलुक र जनताको हितमा केन्द्रित भएर लागेको तर्क गर्दै उहाँले भन्नुभयो, “एक थोपा रगत रहेसम्म मुलुक र जनताको हितमा नै लागिन्छ । पद र प्रतिष्ठा भन्ने कुरा सहायक विषय हो । प्रमुख विषय जनताको अधिकारको विषय हो ।”

प्रमुख दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र मधेसी, आदिवासी, जनजाति आन्दोलनसँग भएका सहमति नै संविधान निर्माणको आधार भएकाले मतादेशलाई मान्ने कि जनादेशलाई मान्ने विषयमा दुबिधा नराख्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले फागुन १६ गतेको आन्दोलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले महत्वका साथ हेरेकाले सक्रिय सहभागिता जनाउन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।