१ कार्तिक २०८३, आइतबार

पृथ्वीमा २० प्रतिशत अक्सिजन दिने अमेजनमा डढेलो, राष्ट्रपतिको राजीनामा माग

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० भदौ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गर्नुभएको छ ।

विश्वको ६० प्रतिशत अक्सिजन दिने क्षमता बोकेको यो जङ्गलले हाल पृथ्वीमा २० प्रतिशत अक्सिजन उपलब्ध गराएको छ । यसैले यसलाई दुनियाँको फोक्सोसमेत भनिन्छ । यो जंगलमा १६ हजारभन्दा धेरै जीव बस्ने गर्दछन् ।

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीट गर्दै भन्नुभएको छ, “कोलम्बियाका राष्ट्रपति इभान डुकुसँगको कुराकानीमा हामीले आ–आफ्नो मुलुकको सार्वभौमसत्तालाई पनि सम्मान गर्दै संयुक्त योजना बनाउन जरुरी रहेको बारेमा छलफल भयो ।”

गत साता फ्रान्सको बियारिजमा सम्पन्न सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले अमेजनको डढेलो नियन्त्रण गर्न सदस्य राष्ट्रहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

यसवर्ष मात्र ब्राजिलमा ७४ हजार पटक आगलागीका घटना भइसकेका छन् जसमा आधाभन्दा बढी अमेजन जंगलमा भएका छन् । सन् २०१८ को यही अवधिको तुलनामा यो करिब ८४ प्रतिशतले बढी हो ।

ब्राजिलको सबैभन्दा ठूलो राज्य अमेजनमा सोमबार आपत्कालीन स्थिति घोषणा गरिएको छ । करिब ५५ लाख किलोमिटरमा फैलिएको क्षेत्रमा आगो अनियन्त्रित भएपछि सरकारले आपत्कालीन अवस्था घोषणा गरेको हो ।

आगलागीको घटनालाई लिएर दुनियाँभरमा बढिरहेको आक्रोशका बीच जनजातीय समूह‘कायापो’का प्रमुख राउनीले राष्ट्रपति बोल्सोनारोको सत्ताबाट हटाउन समेत माग गरेका छन् । –एजेन्सी/रासस