४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो ।

यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।

तीनै जनाको बयान सकिएपछि आजबाटै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो । अब दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ ।

तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।

आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, कँडेल र कार्कीमाथि ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।

रविको समर्थनमा प्रदर्शन हुने देखेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ भने पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध पुडासैनी परिवारको तर्फबाट किटानी जाहेरी समेत परेको छ ।