२९ आश्विन २०८३, बिहिबार

राजनीतिको कुरुप चित्र, रविहरूको उदय र समाजको मनोदशा 

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

प्रचण्ड त्रसित भए । उनमा भयको संकेत देखियो । उनकै निर्वाचन क्षेत्रमा भइरहेको एउटा ठूलो भेलाबाट उनी अत्तालिए । त्यसैको बिम्बमा एउटा कार्यक्रममा उनको अभिव्यक्ति गजबको आयो ।

‘महाराजाकै शैली हुने हो भने कम्युनिस्ट पनि सडकबाट, जनताबाट फ्याँकिन सक्छन् ।’

नेकपामा एउटा अहंकार थियो, दुईतिहाईको बहुमतको जसलाई सडकका आम मानिसले चिरिदिए, एक संचारकर्ममा लागेको तर अलग विषयको अनुसन्धानमा हिरासतमा राखिएको व्यक्तिका लागि ।  दुईतिहाईविरुद्ध मात्र होइन, प्रतिपक्ष होस् वा समग्र राजनीतिक प्रणाली, त्यसै सात्तो उड्यो । सदनको प्रतिपक्षी दलले त्यो भिडमा आत्मरती पोख्ने कोशीश गरिरहेकै छ । तर प्रणालीविरुद्धै नाराबाजी हुन थालेपछि उसले पनि गहन भएर सोचेको होला ।

नेपालको राजनीतिक प्रणालीको विकास, आन्दोलनको तयारी र सत्तासहित व्यवस्था उलटपुलटका इतिहासमा ‘भुईँ मान्छे’ प्रधान छन् । तिनको योगदान बलियो छ । प्रचण्ड आफैंले पनि शोषित, दमनमा परेका भुईँमान्छेको भावुकताबाटै माओवादी आन्दोलनको उचाई समातेका थिए । जातीय मुक्ति, छुवाछुतविरुद्धको आवाज, क्षेत्रीय मुक्ति, वर्गीय मुक्ति, बेरोजगारीको समस्या समाधान उनका नारा थिए । यी सामाजिक मुद्दा नै राजनीतिको केन्द्रमा स्थापित गरेका थिए ।

राज्य संयन्त्र बलियो हुनुको साटो पार्टीका भरौटे, हुक्के र ढोकेका लागि मात्र कमाई खाने भाँडो बनाउँदै भ्रष्टाचारले सीमा नाघेपछिको रोष र रुष्टता पोख्न आम मानिसले एउटा हाँगो समात्छ, समात्छ । त्यसका लागि कारण र मुद्दा चाहिन्थ्यो, सतहमा देखिन– त्यो देखियो । तर कानुनी राज्यमा कुनै अमुक मानिसका गल्ती नै छैनन्, हुँदैनन् भन्न मिल्दैन । राजनीतिले नै देश चलाउने हो तर राजनीतिज्ञका अनुहार फेर्न आवश्यक छ

उनी शान्ति प्रक्रिया हुँदै शासकीय प्रणाली नै फरक गरेर बलियो जनमतसहित अगाडि आउँदा पनि परिवर्तनका संकेत नदेखिएपछि, भ्रष्टाचार र घुसखोरी मात्र हैन, चरम दुरुपयोगका प्रक्रिया बढेपछि मनभरी रहेका भँडास पोख्नका लागि जनतालाई प्रतिनिधि चाहिएको थियो, त्यो पात्र रवि लामिछाने बनिदियो । उसले यहि राजनीतिक प्रणाली र शासकको शासनकालको थोरै बर्षहरूमा व्यवस्थै परिवर्तन गरिदिन सक्ने ‘भुईँ मान्छे’का यति प्रतिनिधिमूलक समस्या र मुद्दालाई उठायो कि, राज्यप्रति आम नागरिकमा रहेको घृणा कानेखुसीमा मात्र सीमित रहेन ।

भुईमान्छेका ति भावनाहरूसँग जोडिएको लामिछानेका लागि त्यो समूह अहिले पनि ‘सात खून माफ’ गर्न तयार हुनुको पर्दापछाडीको सत्य, पर्दाअगाडि रहेका खेलाडीको बेथिति हो ।

सरकार गठन गरेपछि नेकपाले धमाधम काम गर्नुपर्ने थियो । भ्रष्टाचारविरुद्ध बलियो र व्यवाहारिक कदम चाल्नुपर्ने थियो । त्यसो हुन सकेन । बरु, भ्रष्टाचारी भनिएकाहरूसँगको उठबस बाक्लो भयो । सिस्टममा राजनीतिक व्यक्तिको अनुकुलताका आधारमा निर्णय र भागशान्ति हुन थाले । यहाँसम्मकी सत्तारुढ पार्टीका अध्यक्ष र अर्का नेताको निचस्तरको संवाद नै सतहमा आयो, यहि बेला ।

राज्य संयन्त्र बलियो हुनुको साटो पार्टीका भरौटे, हुक्के र ढोकेका लागि मात्र कमाई खाने भाँडो बनाउँदै भ्रष्टाचारले सीमा नाघेपछिको रोष र रुष्टता पोख्न आम मानिसले एउटा हाँगो समात्छ, समात्छ । त्यसका लागि कारण र मुद्दा चाहिन्थ्यो, सतहमा देखिन– त्यो देखियो । तर कानुनी राज्यमा कुनै अमुक मानिसका गल्ती नै छैनन्, हुँदैनन् भन्न मिल्दैन । राजनीतिले नै देश चलाउने हो तर राजनीतिज्ञका अनुहार फेर्न आवश्यक छ । व्यवाहार फेर्न आवश्यक छ । जन आक्रोशले मेसो भेटेपछि यो व्यवस्थामाथि धावा बोल्नका लागि अब सलाई कोर्यो भने डढेलो लाग्नका लागि धेरै समय लाग्दैन ।

व्यवस्था परिवर्तनका लागि जसरी तत्कालिन माओवादीले सामाजिक मुद्दालाई उठायो, कांग्रेस एमालेहरूले पनि यसै गरेका थिए । तर आम मानिसको ताकत दलीय छायाँ भन्दा कयन ठूलो हुन्छ । यो भिडमा अभिष्ट सेक्नेहरूले तावा तताइरहेका छन्, रवि लामिछानेका नाममा ।

यसको दलिलका रूपमा पूर्वजर्नेल तथा लेखक, सहित्यकार राजेन्द्र थापाको मतसँग सहमति हुन सक्छ । उनले लेखेका छन्–  अहिले पासा पिर्लिक्किदै गएको महसुस गरेन भने राजनीति गर्न सकिन्न । अहिले को यो जनतरंग रवि पछाडी उभिए पनि त्यो रविको साथमा हैन यो कसैकाबिरुद्धको आवाज हो । एन्टी भोट भनिन्छ । जसरी आन्दोलन यीनका पक्षमा हैन राजाकाबिरुद्धका एन्टीभोट बनेको थियो । किनभने राजाले टेकओभर गरेपछी माओवादीलाई हतियार बिसाउन सम्झौता गर्लान् र आतंक समाप्त होला भनेको त उल्टै सत्ता लम्ब्याउन चुनाब गराएकाले एन्टिभोट उम्लेको थियो ।

रबि एक प्रतीक र माध्यम हुन् । अब जनता जनयुद्धकालमा जस्तो बादल गर्जिंदा पनि बम पड्कियो माओवादी या सरकारी फौज आयो भनेर लुक्ने खालका छैनन् । हिजो आइसोलेटेड भएकाले एक्लो कमजोर ठान्थे जनता । आज मोबाइलले झापामा सलाई कोरेमा महेन्द्रनगरका जनताको मसाल बल्छ । डन्ट अन्डरस्टिमेट द पावर अफ कमन म्यान भने जस्तो । पोखरा रत्नमन्दिरको पर्खालभित्र मस्त राजा ज्ञानेन्द्रले चाकरहरूले मुठ्ठी भर भनेको पत्याए जस्तो भइरहेको त छैन ?

अन्धवादमा समाज खण्डित

यस प्रकरणमा न्याय मर्नुहुँदैन, कुनै हुलहुज्जतबाट निर्णय हुँदैन । कानुनको परिधिबाट कोही पनि टाढा हुन हुँदैन भन्ने आशयःले जम्मा एउटा आलेख, त्यसको पुष्टयाँई गर्दागर्दै आएका प्रतिक्रियाहरू पढियो । समाजको मनोदशा कानुन, न्याय र कार्य सम्पादन तथा विधिको बाटो भन्दा पनि व्यक्तिवादमा केन्द्रित रहेको पाइयो । ति कति प्रायोजित थिए वा कति थिएनन् यसमा भन्नु केही छैन, आक्षेप कसैलाई छैन । तर, हाम्रो समाज र सामाजिक प्राणी हुनुको दायित्वबोध हामीले कसरी गरिरहेका रहेछौं भन्ने लाग्यो ।

दलले दलीयकरण नगरी कानुनी राज्यलाई बिना हस्तक्षेप चल्न दिएको भए, चलाएको भए । त्यो मौकालाई प्रयोग गरेको भए चितवनलगायत देशका विभिन्न भागमा यस्ता आवाजहरू उठ्ने थिए ? अथवा यी आवाजका बिरोधमा आवाज उठ्ने थिए ? अथवा रविहरूको उदय वा आवश्यक हुने थियो ? यो रवि आफैंले पनि गरेका कतिपय प्रश्न हुन्

अर्कोचाहिँ सन्तुलित र विश्वव्यापी सामाजिक चरित्रको व्याख्या गरेका समाजशास्त्री चैतन्य मिश्रको विचारमा आएका प्रतिक्रिया हेरियो । त्यसमा पनि खासै उनको व्यक्तित्व, विचार र अनुभव तथा अध्ययनको विषयबस्तुतिर समर्थक वा जे भनौं त्यो समूह जान तयार छैन । बस, गाली गर्ने आत्मरतीमा रमाउन पाए भयो ।

बन्दुक र गोली हुनेहरूलाई प्रतिबन्धसहित कानुनी दायरामा ल्याउन राज्यलाई सजिलो हुन सक्छ । तर मुट्ठीमात्र हुनेहरूलाई समात्ने कारण चाहिन्छ । उनीहरूको सबैभन्दा ठूलो हतियार आवाज बनिदिन्छ । तर त्यो आवाज कुनै दिशातिर छ ? यो समाजलाई प्रश्न हो भने राज्यलाई चुनौति ।

अहिले भइरहेको त्यहि हो । राजनीतिक दलले दलीयकरण नगरी कानुनी राज्यलाई बिना हस्तक्षेप चल्न दिएको भए, चलाएको भए । त्यो मौकालाई प्रयोग गरेको भए चितवनलगायत देशका विभिन्न भागमा यस्ता आवाजहरू उठ्ने थिए ? अथवा यी आवाजका बिरोधमा आवाज उठ्ने थिए ? अथवा रविहरूको उदय वा आवश्यक हुने थियो ? यो रवि आफैंले पनि गरेका कतिपय प्रश्न हुन् ।

समाज खण्डित बनेको छ । एकै घरका मान्छेमा पनि यस प्रकरणमा सोचमै विविधता छ । परिवारका सदस्यमा मतान्तर बनेको छ । पद्दती, कानुन र नियमको कुरा गर्नेहरूले यस प्रकरणमा अदालतको फैसला अन्तिम हुन्छ भन्दा, बेरोजगारीको समस्यामा पिल्सिएको, न्याय नपाएको, मान्छे नचिन्दा काम नबनेको एक पीडितले अदालतमाथि विश्वास गर्दैन । उसको विश्वासको जग अन द स्पोट एक्शन गर्ने जोकोही होस्, उसमाथि हुन्छ । कुनै बेला मन्त्री लालबाबु पण्डितमाथि जनताको विश्वास थियो । कुनै बेला माओवादीप्रति थियो । कुनै बेला कांग्रेसप्रति पनि थियो होला ।

यहि राजनीतिक प्रणालीमा रहेको फोहोरी, विकार व्यवाहारिक कामका कारणले नै रविहरूको अस्वभाविक उदय, स्वभाविक बनिदिन्छ आम मानिसका लागि । यो प्रणाली, पद्दती र राज्य संयन्त्रसँगको आक्रोश यतिसम्म बनेको देखियो, अनुसन्धान भइरहेको कानुनी विषयलाई आम साधारण मान्न तयार छैन । यसको अर्थ, यो प्रणालीलाई उसले व्यवाहारिक रुपमा स्वीकार गर्न नसक्ने अवस्था पनि आउन सक्छ भन्ने पूर्वजानकारी हो । यो हुनुको कारण भनेकै, बेथितिको चाङमा उभिएको सरकार, नेता, तिनका हुक्के र यहि प्रवित्तिको निरन्तरताबाट ग्रसित राजनीति होइन र ?

यस्तो समय कसरी आउँछ, किन आउँछ ? कानुनी दायरालाई सबैले मान्नुपर्छ भन्दा किन समाज मान्दैन भन्ने विषयको शोध नै गरेका विज्ञहरूले दिने सैद्धान्तिक विषयलाई पनि विरोध ठान्न थालेपछि राजनीतिक दलको हविगत के हुने थियो होला ? यस विषयमा प्रचण्डजत्तिका जानकार को होलान् र ? जसले १० औं बर्ष मानिसलाई स्कुलिङमा उतारेर मनोविज्ञानको राजनीति गर्दै हातमा हतियार, छातीमा गोली थाप्ने बनाए, पक्कै यो भिडको मनोदशा उनलाई थाहा छ र उनी त्रसित भएका हुन् । उनको अभिव्यक्तिको सार त्यहि हो ।

रविकै ‘विरोधाभाष’

सञ्चारकर्मीले बेथितिलाई थितिमा ल्याउन जिम्मेवार पदमा रहेका वा कार्य सम्पादनमा रहेका व्यक्तिलाई जवाफदेही बनाउने हो, आफैं न्यायनिसाफको फैसला सुनाउँदै हिँड्ने पनि होइन । यो, अर्को अतिवाद स्थापित हुन सक्छ । प्रणालीलाई स्थापित, व्यवस्थित र जवाफदेही बनायो भने त्यसले दिर्घकालिन लय र गति लिन सक्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ

रवि कुनै एउटा विषयको अनुसन्धानको दायरामा छन् । उनी सञ्चारकर्ममा लागेका कारण अनुसन्धानमा सहयोग गर्नुपर्छ । प्रत्येक दिन उनलाई भेट्ने हरेकले बाहिरको माहौलका बारेमा सूचना दिएकै छन् । उनी हरेक चिजसँग अपडेटेड छन् । यतिमात्र होइन, उनलाई तिनै भेट गर्नेले उकासिरहेका पनि छन् ।

त्यसैले यहि प्रकरणमा उनका दुईखाले बयान आइरहेका छन् । अदालतमा प्रहरी कस्टडीमा आफू अति नै सुरक्षित भएको बयान दिएको भोलीपल्त पत्नीमार्फत सामाजिक सञ्जालमा आफू असुरक्षित भएको बताउँछन् ।

भिडको मनोदशाबारे जानकार रहेका उनले यहि प्रकरणमा पनि खेलीरहेका छन् । रविबाहेक पनि यो मुलुकमा सत्य र न्यायका लागि लडिदिने मान्छे छन् । नागरिक समाज छ । यो आत्मविश्वास उनमा छैन, त्यसैले प्रशासनमा दबाब दिनका लागि उनले भिडमार्फत खेल्ने प्रयास गरेकै छन् ।

कुरा रविको व्यक्तिगत जीवनको मात्र हुँदैन अब । अन्धवादमा उर्लिएको भिडले उनको समर्थन गरिरहँदा उनले कानुनी मान्यता स्थापित गर्ने सन्देश छाड्नुपर्ने बेला हो, यो । सञ्चारकर्मीले कानुन भन्दा माथि कसैलाई राख्न पनि हुन्न, आफू बस्ने कुचेष्टा नै पद्दतीलाई चुनौति हुन्छ । सञ्चारकर्मीले बेथितिलाई थितिमा ल्याउन जिम्मेवार पदमा रहेका वा कार्य सम्पादनमा रहेका व्यक्तिलाई जवाफदेही बनाउने हो, आफैं न्यायनिसाफको फैसला सुनाउँदै हिँड्ने पनि होइन । यो, अर्को अतिवाद स्थापित हुन सक्छ । प्रणालीलाई स्थापित, व्यवस्थित र जवाफदेही बनायो भने त्यसले दिर्घकालिन लय र गति लिन सक्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ ।

उनको लोकप्रियतालाई अतिरञ्जित बनाउँदै पैसा कमाउने या चर्चामा आउने काममा भएका कतिपय दृष्टान्त यसका उपज हुन् । यसमा उनी, उनका सहयोगी र परिवारका सदस्यले सावधानीका साथ अपनाउनुपर्ने बाटो पहिल्याउन सक्नुपर्छ । अन्यथा संवेदना भन्ने चिजको कुनै मुल्य नहुने रहेछ, आज रविको न्यायका लागि लडिरहँदा प्रधानमन्त्रीलाई नै, स्वर्गवासको कामना गर्ने तस्बिर नजिर बनिरहेको छ । यस्ता कामलाई रोक्नका लागि रविले अपिल गर्नुपर्छ नकी अझ शंकास्पद अभिव्यक्ति जारी गर्ने ।