६ कार्तिक २०८३, शुक्रबार

कर्मचारीलाई प्रोत्साहन भत्ता, निजी लगानीमा ५६० मेगावाट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदाै । करिब दुई दशकको अवधिमा निजी क्षेत्रको लगानीमा नेपालमा पाँच सय ६० मेगावाट बिजुली उत्पादन भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

राष्ट्रिय प्रसारण लाइनमा निजी क्षेत्रका ८३ वटा आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

निजी लगानीमा २०५७ असारदेखि हिमाल पावरले उत्पादन गरेको खिम्तिखोला जलविद्युत् आयोजनादेखि गत वैशाखबाट राष्ट्रिय प्रसारणमा जोडिएको साल्मानीदेवी हाइड्रोपावरको कपादी गाडसम्मको बिजुली उत्पादन सुरु भएको छ।

निजी क्षेत्रका एक सय २० वटा आयोजना निर्माणाधीन छन्। त्यसबाट २६ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ। आर्थिक स्रोतको जोहो भइसकेका यस्ता आयोजना निजी ऊर्जा उत्पादबाट निर्माण भइरहेका र धमाधम अगाडि बढिरहेका छन्। निजी क्षेत्रले निर्माण घोषणा गरेका र विभिन्न चरणमा रहेका एक सय ३७ वटा आयोजनाबाट २८ सय ६९ मेगावाट बिजुली उत्पादन हुने तथ्यांक छ।

विद्युत् प्राधिकरणले आव २०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ नाफा गराउने आफ्ना कर्मचारीलाई प्रतिव्यक्ति सात हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता दिएको छ।

प्राधिकरणको आइतबार राजधानीमा सम्पन्न ३४ औं वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले सबै कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको जानकारी दिए।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका पुनले प्राधिकरणलाई अन्य सरकारी संस्थानको तुलनामा अब्बल बनाउने उद्घोष पनि गरे। उनले भने, ‘समग्र सरकारी संस्थानमध्ये प्राधिकरणलाई छिट्टै एक नम्बरको बनाउँछौं।’ यसका लागि प्राधिकरणले गर्ने प्रगति र लोभलाग्दो नाफासहितको उत्कृष्ट व्यवस्थापन नै प्रमुख हुने उल्लेख छ।