६ कार्तिक २०८३, शुक्रबार

चलायमान बन्दै नेकपा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

लामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थिए । जसका कारण कार्यकर्तादेखि नेतासम्ममा आक्रोश सिर्जना हुँदै आएको थियो ।

नेकपाले आफ्ना सबै महत्वपूर्ण निकायमा नेताहरूलाई जिम्मेवारी दिएसँगै अब केन्द्रदेखि जिल्लासम्ममा पार्टीका गतिविधि समेत क्रियाशील हुनेछन् भने नेता तथा कार्यकर्तामा देखिँदै आएको आक्रोशसमेत मत्थर हुने विश्वास आम कार्यकर्ताले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीयस्तरमा गठन भएका सबै विभागमा प्रमुख र उपप्रमुख टुंग्याएको थियो । यस्तै, यसअघि नै पार्टीले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्जसहित सदस्य चयन गरिसकेको छ । नेकपाको जिल्ला कमिटीले पूर्णता पाइसकेका छन् ।

‘पार्टी एकताको करिब डेढ वर्षभित्रमा पार्टीलाई एक ढिक्का बनाउने काममा पार्टी नेतृत्व सफल भएको छ,’ पार्टी प्रवक्ता एवं प्रचार प्रसार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भने, ‘अब पार्टी एकताको प्रमुख कामहरू सबै सकिएकाले पार्टीको गतिविधि चलायमान हुनेछन् ।’ सबै विभाग गठन भइसके पनि पार्टीको पोलिटब्युरो कमिटी भने अझै टुंगिन सकेको छैन ।

पार्टीको केन्द्रीय कमिटीमा रहेका नेतालाई जिम्मेवारी बाँडफाँट नहुँदा पार्टीका गतिविधि शून्यजस्तो नै हुँदै आएको थियो । ‘पार्टीलाई संस्थागत रूपमा अघि बढाउने काममा अब कुनै समस्या उत्पन्न हुनेछैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीका सबै विभागले आ–आफ्नो जिम्मेवारीलाई सफलतासाथ वहन गर्ने भएकाले पार्टीका गतिविधि तीव्र रूपमा अघि बढ्नेछन् ।

संगठनात्मक एकता नसकिँदा लाखौं नेता कार्यकर्ता भूमिकाविहीन भइरहेको बेला महाधिवेशनमा टुंग्याउने भनिएको विषयले बीचमै प्रवेश पाउँदा विभागहरूमा जिम्मेवारी बाँडफाँट टुंग्याउन दुवै अध्यक्षलाई कठिन भइरहेको थियो ।

पार्टी एकीकरणपछि तीन महिनामा पार्टीका सम्पूर्ण तह र जनवर्गीय संगठनको एकीकरण गरिसक्ने भनिए पनि करिब डेढ वर्षपछि भए पनि पोलिटब्युरोबाहेक सबै कमिटीले नेतृत्व पाएका छन् । विभागले नेतृत्व पाएसँगै अब सबै नेता पार्टीको संगठनात्मक अवस्था सुधारमा लाग्ने बाटो खुलेको छ ।