३ कार्तिक २०८३, मंगलबार

घट्ट बनाएर ७६ वर्षीय मनिरामको वार्षिक पाँच लाख आम्दानी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ साउन । धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै आउनुभएको छ ।

सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टको पाथर बेचेर वार्षिक रू पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको हो । उहाँलाई काम गर्न उमेरले छेकेन । छयत्तर वर्षको उमेरमा पनि मनिरामसँग जोश र जाँगर निकै छ । बुढेसकालले छोए पनि उहाँ आफ्नो कामलाई निकै मन लगाएर गर्दै आउनुभएको छ ।

सधैँ बिहानै उठ्नुहुने मनिराम परिवारसँग मिलेर घरको काम सक्नुहुन्छ र त्यसपछि घन, हथौँडा र छिनो बोकेर पाँच मिनेट परको राक्से भन्ने ठाउँमा पुग्नुहुन्छ । बाह्र वर्षदेखि ढुङ्गासँगै मितेरी गाँस्दै बिताउनुभएको राक्सेमा उहाँले अहिले पनि पत्थरको घट्ट बनाउनुहुन्छ ।

महिनामा दुई घटृ बनाउँदै आएको र वर्षमा २५ वटासम्म घट्ट तयार पार्ने गरेको र एउटा घटृलाई बढीमा रू ४० हजारसम्ममा बिक्री गर्नुहुन्छ, मनिराम भन्नुहुन्छ, “घटृ चाहियो भनेर विभिन्न ठाउँबाट माग आउँछ, मागअनुसार बनाउँछु । निर्माण गरेका सबै घटृ बिक्री हुन्छन् ।” घट्टको माग रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत जिल्लाबाट समेत आउने गरेको उहाँ बताउनुुहन्छ ।

घरमा पनि मनिरामले गाई, बाख्रा, भैँसी, कुखुरा पाल्नुभएको छ । घरको काममा उहाँलाई परिवारले पनि सघाउने गरेका छन् । घरधन्दा सकेर बँचेको सबै समय पाथर बनाएरै बिताउँछु । आफ्नै काम र पेशामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिन । घरमै गाई भँैसी पालेको छु । ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस नगरेकोे उहाँ सुनाउनुहुन्छ ।

विगत २६ वर्षदेखि पाथर बनाउँदै आएको बताउँदै मनिराम भन्नुहुन्छ, “म र मेरो परिवारलाई खान लाउन नपुगेर ढुङ्गा फोडेको होइन, पुख्र्यौली पेशा हो । पेशाको माया लाग्छ, छोड्न मन लाग्दैन तर बनाएर राखे पनि कुहिएर खेर जाला भन्ने डर हुँदैन ।” अहिले पछिल्लो समयमा विद्युतीय मिलको प्रयोग बढदै गए पनि घटृकोे मागमा कमी नआएको उहाँ बताउनुहुन्छ । –रासस