काठमाडौं, १० फागुन । भाइको हत्यामा संलग्न एमाओवादी सभासद् बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण माओवादी कार्यकर्ताबाट गोली हानी हत्या गरिएका रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अदालतले परमादेश जारी गरेको छ ।
पुनरावेदन अदालत जनकपुरका न्यायाधिश सत्यराज गुरुङको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछापविरुद्ध परमादेश जारी गरेको हो ।
घटनाका दोषीउपर दायर गरिएको किटानी जाहेरीमा १२ बर्षसम्म पनि प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि पीडित परिवारले फागुन ६ गते दायर गरेको रिट निवेदनमा पुनरावेदन अदालतले परमादेश जारी गरेको अधिवक्ता पुष्प पौडेलले जानकारी दिए । अदालतले १५ दिनभित्र कारबाही अगाडि नबढाउनुको कारण पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको छ ।
२०५५ साल असार १० गते ओखलढुंगामा भाइ उज्जनकुमार श्रेष्ठको हत्या भएपछि प्रहरीमा न्याय माग्न पुगेका गणेशकुमार श्रेष्ठलाई २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेको अबस्थामा रामेछापको साँघुटारमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गरिएको थियो ।
गणेशकुमारकै उजुरीका कारण उनका भाइ उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ । पूर्वसभासद् ढुंगेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको परिवारजनको ठहर छ ।
गणेशकुमारको हत्यामा संलग्न टिका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका छ जनाविरुद् २०५९ सालमा रामेछाप प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन् । १२ बर्षसम्म कारबाही प्रक्रिया अगाडि नबढेपछि गणेशकुमारका छोरा विजयले फागुन ६ गते पुनरावेदन अदालतमा रिट दायर गरेका थिए । अदालतमा अधिवक्ता राजकुमार महासेठ, पुष्प पौडेल, सिताशरण मण्डल लगायतले बहस गरेका थिए ।
‘मेरो काका उज्जनकुमारको हत्यामा संलग्न बालकृष्ण ढुंगेललाई सर्वश्व लगायतलाई जन्मकैदको फैसला गरेपनि उनलाई अहिलेसम्म जेल हालिएको छैन । न त मेरो बुवा गणेशकुमारको हत्यामा संलग्नहरुमाथि नै कारबाही अगाडि बढेको छ ।,’ विजय भन्छन्– ‘दिदीकै आँखा अगाडि बुवाको गोली हानी हत्या गरियो । जसका कारण दिदी रचनाले समेत आत्महत्या गर्नुभयो । हाम्रो परिवारले न्यायका लागि कहिलेसम्म लडिरहने ?’ १९ बर्षीय विजयले बुवाको हत्या हुँदा आफू ७ बर्षको मात्रै रहेको उनले बताए ।
‘उज्जनकुमारको हत्या प्रकरणमा बालकृष्ण ढुंगेलसँगै दोषी ठहरिएका पुष्कर गौतम जेल चलान भइसकेका छन् । तर, ढुंगेललाई राजनीतिक आवरणमा अहिलेसम्म उन्मुक्ति दिइएको छ । यसले विधिको शासनकै ठाडो उल्लंघन गरेको छ ।,’ पीडितका तर्फबाट बहस गरेका अधिवक्ता पुष्प पौडेलले भने, ‘गणेशकुमारका हत्यामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाउन पनि प्रहरीले आनकानी गरिरहेको छ । एउटै परिवारले परिवारका तीन जना सदस्य गुमाउँदा पनि राज्य लाचार बनिरहनु दुःखद हो ।’


















प्रतिक्रिया