
महोत्तरी, २२ साउन । मटिहानी नगरपालिका ८ स्थित घरहरूमा लुकाई राखेको करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३८ बोरा मरिच मंगलबार राती प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय रहिम लहेरी, बस्ने जवार दर्जी र हकिम दर्जी समेत ३ जनाको घरमा उक्त मरिच फेला पारी बरामद गरेको हो । हाल उनीहरू फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच, भक्तपुरमा ७.५ तोला सुनसहित करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने मोहन लाल श्रेष्ठको घरबाट मंगलबार बेलुका चोरी भएको प्रहरीले जनाएको छ ।
यस्तै चागुँनारायण नगरपालिका ४ कुईकेलगाँउ बस्ने ४७ वर्षीया अभि कुमारी रोक्काको घरबाट मंगलबार दिउँसो सुनका विभिन्न गहना २.५ तोला, तामाको कुडे १ थान र नगद ७ सय रुपैयाँ सहित करिब १ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका १ चौलीखाबजार बस्ने संजय साहको घरबाट बुधबार बिहान सुन १३ तोला, चांदी १ किलो र घरभित्रै अगाडि स्टरमा रहेको हार्डवेयर पसलबाट नगद ६ लाख ६० हजार र सामसुङ जे सेभेन मोबाईल समेत गरी करिब १५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै चोरीका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाकारी दिएको छ ।












प्रतिक्रिया