
-राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २१ साउन । स्थानीय तहको स्थापनासँगै डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहमा बैंकिङ स्थापना भएका छन् ।
स्थानीय तहमै बैंकिङ सेवा सुरु भएपछि स्थानीय तहका सरकारी कार्यालयका कर्मचारीदेखि स्थानीय वासिन्दाहरुलाई समेत बैंकिङ कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा पहिले नै बैंक स्थापना गरिएको भएपनि अन्य पाँच वटा स्थानीय तहमा भने स्थानीय तहको स्थापना भए पश्चात मात्रै बैंक स्थापना गर्न थालिएका हुन् ।
प्रत्येक स्थानीय तहमा एक वाणिज्य बैंक अनिवार्य हुनु पर्ने नेपाल सरकारको नीति अनुसार नै डडेल्धुराका सात वटै स्थानीय तहमा वाणिज्य बैंक स्थापना भई बैकिङ सेवा शुरु गरिएको छ ।
स्थानीय तहमा बंैक स्थापना भए सँगै ग्रामिण क्षेत्रका सेवाग्राहीका साथै स्थानीय तहले गर्ने विभिन्न आर्थिक कारोबारका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता अन्त्यका साथै समयको समेत बचत भएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट विकासले बताएका छन् ।
उनले भने, ‘सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका युवाहरु जागिरका लागि विदेशमा रहेको र उनीहरुले विदेशबाट पैसा पठाउँदा बैंकहरु स्थानीय तहमै भएकोले घरपरिवारले पैसा लिनका लागि सहज भएको छ ।
स्थानीय तहमा बैंक स्थापना हुनु भन्दा पहिले बृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकाममा २ देखि ३ दिनसम्म बास बस्नुपर्ने बाध्यता रहेको गन्यापधुरा गाउँपालिका ३ कि डम्बरी पार्कीले बताइन् ।
‘स्थानीय तहमै बैंक आए पैसा लिनका लागि सहज भएको छ’, उनले भनिन् ।















प्रतिक्रिया