बर्दिया, ९ फागुन । बर्दियाको कालिका गाविसमा सहकारीमा आधारित मुसुरोको बीउ उत्पादन, सङ्कलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण उपआयोजना सञ्चालन हुने भएको छ ।
साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजनाको कृषि व्यवसाय अनुदान सहयोगबाट उपआयोजना सञ्चालन हुन लागेको साना किसान कृषि सहकारी संस्था लि कालिकाका अध्यक्ष हरिबहादुर अधिकारीले संस्थाको सार्वजनिक सुनवाइ कार्यक्रममा बताउनुभएको हो ।
मुसुरोको बीउखेतीतर्फ कृषकलाई अभिवृद्घि गर्दै उन्नत बीउ उत्पादन गरी कृषकको आयस्तर वृद्घि गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको उपआयोजनाको लागत साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजनाको अनुदान एक करोड २२ लाख ७२ हजार ५९३ रुपैयाँ ४५ पैसा र अनुदान ग्राहीले व्यहोर्ने एक करोड ९६ लाख २१ हजार २९४ रुपैयाँ ५५ पैसा गरी कुल तीन करोड १८ लाख ९३ हजार ८८८ रुपैयाँ रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बताइएको छ ।
उपआयोजनाबाट कालिका, मैनापोखर, सोरहवा, डेउढकला, मोहम्मदपुरका ६०० कृषक परिवार प्रत्यक्ष लाभान्वित हुने र ८०० बिगाहा क्षेत्रफलमा ६०० टन मुसुरो उत्पादन हुने साना किसान कृषि सहकारी संस्था लि कालिकाका अध्यक्ष हरिबहादुर अधिकारीले बताउनुभयो ।
चौबीस माहिना समयावधि रहेको उपआयोजनाले २०० टन क्षमताको बीउ सङ्कलन तथा गोदाम घर निर्माण र एक हजार केजी प्रतिघन्टा बीउ ग्रेडिङ प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको र सिम्रिक तथा खजुरा दुई जातको मसुराको बीउ उत्पादन गर्ने बताइएको छ ।















प्रतिक्रिया