
इटहरी, १६ साउन । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजीनामा दिने बताएका छन् ।
उनले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी पनि गरेका छन् । उनले इटहरीमा सडक निर्माणको कामले गाँउ गाँउमा तीव्रता लिएको बताए ।
इटहरीका ११ वटा सडक वहुवर्षीय योजना अनुरुप निर्माण हुँदैछन् । ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई पिच बाटोले जोड्ने छ । उपमहानगरका गाँउ गाँउका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य मुख्य बाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए ।
‘तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर, केही समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ’, चौधरीले भने । गत वर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो ।
चालू आर्थिक वर्षमा पनि भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिएको छ । उनले वाह्य चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरे ।
इटहरी उपमहानगरले चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपियाँ छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए ।
व्यक्तिले भोगचलन गरेका करोडौँ मूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्रता दिएको सनाए ।
उनले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खाली नै जाने बताए । तर, उपमहानगरमा रहेका वेथिती हटाउँदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुर्याउने बताए ।












प्रतिक्रिया