नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ नेपालको कम्युनिस्ट आन्दोलनमै एक इमानदार नेताका रूपमा चिनिन्छन् । उमेरले ७० टेक्न लागेका उनले जीवनको ऊर्जाशील समय भूमिगत रूपमा बिताए । तीनपटक भूमिगत बनेका किरण चारपटक जेलमा बसे । भूमिगत जीवन र जेलजीवनबारे उनका अनुभूतिहरू :
भूमिगत जीवन सम्झँदा बडो आनन्द लाग्छ । भूमिगत जीवन साँच्चि नै रमाइला थिए । जीवनमा तीनपटक भूमिगत बनेँ । ०२५ मा पहिलोपटक भूमिगत हुनुपर्यो । ०२१ को चैतमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको थिएँ, दाङमा । सुरुमा भूमिगत हुँदा म भर्खरको केटो थिएँ । पातलो शरीर थियो । विवाह पनि गरेको थिइनँ ।
०२५ मा हसनापुर, दाङको निम्नमाध्यमिक विद्यालयको हेडमास्टर थिएँ । पढ्दै पनि थिएँ । त्यहीवेला पार्टीको केही महत्त्वपूर्ण कागजपत्र प्रहरीले नियन्त्रणमा लियो । हामी पनि पक्राउ पर्न सक्ने अवस्था आयो । पार्टीले निर्णय गर्यो, अब भूमिगत हुनुपर्छ । स्कुल छाडेर भूमिगत भएँ । हेडमास्टर नै स्कुल नगएपछि गाउँभरि ‘मोहन भूमिगत भयो’ भन्ने हल्ला फैलियो । भूमिगत भएको ३–४ दिन दाङमै लुकेर बसेँ ।
त्यहाँ असुरक्षित महसुस गरेपछि प्युठान जानुपर्ने भयो । एकजना साथी हुनुहुन्थ्यो गोपालजी (अहिले बितिसक्नुभयो) र म दाङको ग्वारखोला हुँदै रोल्पामा पर्ने सतिम लेकमा पुग्यौँ । त्यहाँबाट तल झरेर हरिचौरमा बास बस्यौँ । भोलिपल्ट रोल्पाकै सुलीचौर हुँदै प्युठान पुग्यौँ । प्युठानमा ४–५ दिन बसेर बनारसतिर लाग्यौँ । दाङका हाम्रा सबै साथी बनारस पुगिसकेका थिए । बनारसबाट फर्केपछि पार्टीले ‘दाङ होइन, प्युठान गएर बस्न’ निर्देशन दियो । म प्युठान फर्किएँ । र, फेरि सामान्य जीवनमा फर्किएँ ।
दोस्रोपटक ०३४ मा भूमिगत भएँ । ०३१ मा पार्टीको चौथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनबाट म केन्द्रीय समितिमा चुनिएँ । पार्टीले राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्यो भनेर देशव्यापी पर्चा छर्ने निर्णय गर्यो । मेरो जिम्मामा राप्ती अञ्चल, अर्घाखाँची र गुल्मी थियो । असारको महिनाजस्तो लाग्छ । पर्चा छरियो । पर्चा छरिएको मात्र के थियो, राज्यले धरपकड सुरु गरिहाल्यो । त्यसपछि म फेरि भूमिगत भएँ । त्यो भूमिगत काल त लामै समय भयो । ०४६ चैतमा जनआन्दोलन सफल भएपछि बल्ल खुला भइयो ।
जनयुद्ध सुरु भएपछि फेरि भूमिगत बनेँ । यो तेस्रोपटकको भूमिगत जीवन हुँदै थियो । ०५२ फागुन १ मा जनयुद्ध घोषणा भएपछि नै भूमिगत भएको हुँ ।
०००
फरक–फरक कालका भूमिगत जीवनका फरक–फरक अनुभव छन् । ती रमाइला पनि भए, कष्टकर पनि । पहिलोपटक भूमिगत हुँदाको त्यत्ति स्मरणीय क्षण छैन । दोस्रोपटकको स्मरणीय छन्, जुन समय झन्डै १२ वर्ष भूमिगत बनेँ । त्यसवेला प्युठानमा ‘होल्टाइमर’ साथीहरू निकै कम थिए । म प्राय दाङ, प्युठान, रोल्पा, रुकुम, गुल्मी, अर्घाखाँची घुम्थेँ । यी जिल्ला मेरो नियमति जिम्मेवारीभित्रका थिए । कहिलेकाहीँ पश्चिमको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुगेर संगठन बनाउँथेँ । सांस्कृतिक फाँटको इन्चार्ज पनि भएकोले कहिलेकाहीँ काठमाडौं पनि आउँथेँ । कहिलेकाहीँ एकता समाज बनाउन भनेर भारत पनि जान्थेँ ।
राप्तीबाहिरका जिल्लामा जाँदा त्यत्ति साह्रो भूमिगत फिल हुँदैन थियो । बाहिर मलाई त्यत्ति चिन्दैनथे । राप्तीमा त लुक्नैपथ्र्यो । प्रहरीले चिनिहाल्थे । कहिलेकाहीँ त तनावै हुन्थ्यो । चिनेका साथीलाई राति बोलाउन गयो, अप्ठ्यारो मानेर उठ्थे । कोही थाहा पाई–पाई पनि उठ्दैनथे ।
प्युठानमा ठाउँ–ठाउँमा खोलो तर्नुपथ्र्यो । झिम्रुक खोलो बढी तर्नुपथ्र्यो । हिउँदमा त गाह्रो थिएन । वर्षाको समयमा भने कठिन । तर तर्नैपथ्र्यो । अलि–अलि पौडी खेल्न सक्थेँ । तर, दुईपटक बगेर निकै तल पुगेर उत्रिएको छु । प्राय:जसो लुंगी लगाएर हिँड्थेँ । खोलो तर्दा लुंगी खोलेर टाउकोमा गुत्थेँ । खोलो कहाँनेर फराकिलो छ, गहिरो छैन भन्ने अनुमान लगाएर तर्थेँ । साथी कोही हुँदैनथे । कहिलेकाहीँ अनुमानले फेल खाँदो रहेछ । अनि बगिहाल्ने । बगेर उत्रँदा रमाइलो मान्थेँ ।
त्यसताका नजिक हिँड्नुपर्यो भने झोला बोक्दिनथेँ । खोलो तर्नुपर्ने अवस्थामा पनि झोला बोक्दिनथेँ । अलि टाढा जानुपरे मात्र झोला बोक्थेँ । झोलामा किताब र लगाउने कपडा हुन्थे । टर्चलाइट बोक्थेँ । तर, जहाँ पायो त्यहीँ बाल्न मिल्दैनथ्यो । बोल्यो भने झन् संकेत पाउँथे । त्यसवेला नै दमको समस्या आइसकेको थियो । तैपनि उकालो–ओरालो हिँड्न गाह्रो हुँदैन थियो ।
तेस्रोपटक भूमिगत हुँदा ०५२ फागुनदेखि ०५५ सम्म काठमाडौंमै बसेँ । काठमाडौंमा कम मान्छेले चिन्थे । बढीजसो टेम्पो र ट्याक्सी प्रयोग गर्थेँ । भाडामा कोठा लिनचाहिँ बडा समस्या हुन्थ्यो । जहिल्यै पनि कोठा लिँदा ढाँट्नुपथ्र्यो । ढाँट्नुहुन्न भन्ने मान्यता राख्ने म, जहिलै ढाँट्नैपर्ने । हैरानै हुने नि कहिलेकाहीँ त । मान्छेले शंका नगरून् भनेर नाटक पनि गर्नुपथ्र्यो ।
एकपटक घरबेटीले ‘यो मान्छे एक नम्बरी धन्दा गर्ने हो कि, दुई नम्बरी धन्दा गर्ने हो कि’ भनेर आशंका गरे । आशंका गरेपछि तुरुन्तै डेरा छोडेँ । अर्को डेरा लिएँ । संयोग, त्यो डेरा सेनाको घरनजिकको परेछ । त्यहाँबाट पनि तुरुन्तै सरेँ ।
०५५ माघपछि पार्टीको पूर्वी कमान्ड इन्चार्ज भएर गएँ । सिन्धुपाल्चोक, काभ्रे,
मकवानपुरदेखि पूर्वका जिल्ला पूर्वी कमान्डमा पर्थे । ०६० सम्म पूर्वमै रहेँ । त्यो चरण भने भूमिगत भनिए पनि खुलै हिँडियो । भूमिगतजस्तो अनुभूति नै भएन । हामी जनसेनासँगै हिँड्थ्यौँ । मेरा बडीगार्ड पनि हुनुहुन्थ्यो । ठाउँ–ठाउँमा खुला कार्यक्रम गर्दै हिँड्थ्यौँ । तर, सहरका मान्छेहरू हामीलाई जंगलका भन्थे । केको जंगलमा हुनु नि ? हामी त गाउँमै पो थियौँ त । त्यो समयमा ठाउँ–ठाउँमा लडाइँ हुन्थे । लडाइँमा मर्न पनि सकिन्थ्यो । पञ्चायतकालजस्तो यो एउटाको मात्र कुरा थिएन । सयौँ थियौँ । त्यो वेला भारतको सिलिगुढीमा सानो सेल्टर बनाएको थिएँ । वेला–वेलामा त्यहाँ पुग्थेँ । त्यहाँ पनि ढाँटेर बस्नुपर्ने ।
०००
भूमिगत कालमा पटक–पटक प्रहरीसँग जम्काभेट भएर पनि पक्राउ पर्नबाट बचेको छु । दोस्रोपटक भूमिगत भएका वेला दाङबाट प्युठान जाँदै थिएँ । प्युठानको देवीस्थानमा प्रहरीचौकी थियो । त्यो चौकी छलेर अगाडि बढेँ । अब त बचियो क्यारेजस्तो लाग्याथ्यो । तर, ठ्याक्कै चकचके पुग्दा त झ्याप्पै प्रहरीसँग भेट भयो । चिनेकै प्रहरी रहेछन् । कहाँ जाने हो त भने, तर पक्राउ गरेनन् । मनमनै प्रहरी केटाहरू राम्रै रहेछन् भनेँ ।
एकचोटि लालमटियाबाट कालाकाटे हुँदै म बनबासा जाँदै थिएँ । प्रहरीको ठूलो टिम बाटोमा हिँडिरहेको रहेछ । अब पक्रिन्छ कि भन्ने ‘फिल’ भयो । तर पक्रिएन । म आफ्नो बाटो लागेँ । ०४६ को आन्दोलनका वेलामा काठमाडौंमा छिपेर बसिरहेको थिएँ । बिहान उठेर हिँड्दा थुप्रै ठाउँबाट प्रहरीले थुप्रै मान्छेलाई पक्रँदै लगिरहेको हुन्थ्यो । हामी देख्थ्यौँ । त्यस्तो ठाउँमा धेरैपटक बचियो ।
जासुसकोमा भने खासै परिएन । कहिलेकाहीँ म प्युठान खैराको आफ्नै घरमा गएर बस्थेँ । म आएको गाउँका मान्छेलाई थाहा हुन्थ्यो । प्रहरीले पनि थाहा पाइसक्दो रहेछन् कि क्या हो । ‘धेरै घरमा नबस्ने भनिदिनु है’ भनेर खबर गर्थे । गाउँका मान्छेले पनि ‘घरमा धेरै बस्नुभएन, पक्रन सक्छ’ भनेर खबर गर्थे ।
जनयुद्धमा सिन्धुलीमा बैठक राखेका थियौँ । प्रहरीले थाहा पाइहालेछ । गस्ती गर्न सुरु गर्यो । त्यहाँबाट हामी बच्यौँ ।
०००
म पञ्चायतकालमै पेस्तोल बोक्थेँ । आत्मरक्षाका लागि थियो त्यो । जाली–फटाहासँग लड्नुपरे पनि ठीकै छ भनेर पेस्तोल राख्थेँ । जनयुद्धकालमा त पेस्तोल बोक्ने कुरा भइहाल्यो । मैले लड्नका लागि भने बोकको होइन । लड्न र हतियार चलाउनमा म त्यत्तिको एक्सपर्ट होइन । हतियार चलाउन त किन नजान्नु ?
लड्नकै लागि भनेरै हतियार फायर पनि गरिनँ । सिक्ने वेलामा फायर गरेँ । हामीले जनयुद्धको केही अघि गोरखामा फौजी तालिम लिएका थियौँ । त्यसअघि मैले बागलुङको बाघेओडारमा केही फौजी तालिम पनि लिएको थिएँ । त्यसवेला एमबीजी (मोहनविक्रम सिंह), लामाजी (निर्मल लामा), हामी सँगै थियौँ । सात दिन या नौ दिन, हामीले तालिम गर्यौँ । हामीसँग बन्दुक पनि थियो । सर्टगनले तारो हान्ने अभ्यास गर्यौँ । त्यो फौजीसँग र राजनीतिसँग सम्बन्धित तालिम थियो । बम बनाउनेसहितको बढी फौजी तालिम त गोरखामै भयो ।
मैले भूमिगतकालमा पढ्ने लेख्ने काम छोडिनँ । कुनै न कुनै चिज पढिराख्नुपर्छ भन्ने हुन्थ्यो । लेख लेख्नुपर्छ भन्ने हुन्थ्यो । धेरै बाक्लो लेख्न पाइँदैन थियो । तर पनि लेख्ने–पढ्ने गरिराख्थेँ ।
भूमिगतकालमा शीर्ष बैठक बस्दा कमरेड प्रचण्डलाई हामी सबै आ–आफ्नो क्षेत्रको रिपोर्ट राख्थ्यौँ । आफ्नो क्षेत्रमा सांगठनिक, राजनीतिक क्षेत्रमा के गर्नुपर्छ, के समस्या छन् भन्नेबारेमा रिपोर्ट राखेर छलफल गथ्र्यौँ । हामीले पनि अरू कमरेडबाट रिपोर्ट लिन्थ्यौँ । सबै रिपोर्ट प्रचण्डकहाँ केन्द्रित गथ्र्यौँ ।
०००
तीनपटक भूमिगत जीवन बिताउँदा पक्राउ भने चारपटक परेँ । चारैपटक जेल बसेँ । पञ्चायतकालमै तीनपटक जेल परेँ । ०२५ मा पहिलोपटक दाङमा गिरफ्तार परेँ । त्यसवेला प्युठानमा शिक्षक थिएँ । नेपालीमा एमए दिनुपर्यो भन्ने स्कुलमा सल्लाह भयो । नेपालीमा मैले दिने भन्ने भयो । म दाङ गएर जाँच दिएँ । जाँच सकिनेबित्तिकै पक्राउ परिहालेँ । मलाई माओको रेड बुक र माओको तस्बिर भएको ब्याच बोकेको चार्जमा पक्रियो ।
अञ्चलाधीशसँग भेट्दा ‘यस्तो गर्नुहुन्छ ? कागज गरे छोड्छु’ भने । ‘मैले किन कागज गर्ने ? यी मैले काठमाडौंबाट किनेको हुँ । त्यहाँ किन्न पाउने, यहाँ यसैका कारण पक्राउ गर्ने ? म कागज गर्दिनँ’ भनेँ । मलाई पनि जेल बस्न मन लागेको थियो, कस्तो हुँदो रहेछ भनेर हेर्न । घोराही जेलमा पाँच महिना थुनेपछि छोडिदियो ।
दोस्रोपटक ०२७ मा पक्राउ परेँ । प्युठानमा जनआन्दोलन भयो । हाम्रै गाउँमा जाली–फटाहा, सामन्त थिए । प्रधानपञ्च थिए । उनका विरुद्ध संघर्ष गर्यौँ । त्यसपछि परिस्थिति गम्भीर बन्दै गयो । मलाई पक्राउ गरिहाल्यो । असोजमा पक्राउ परेको, चैतमा छुटेँ । त्यसवेला प्युठानकै जेलमा राखियो ।
तेस्रोपटक ०२९ मा पक्राउ परेँ । केन्द्रीय न्युकलसको गठन भइसकेपछि पश्चिमाञ्चल क्षेत्रीय कमिटीको बैठक बागलुङमा थियो । राप्ती, लुम्बिनी र धौलागिरि र गण्डकी अञ्चलको कमिटी थियो । प्युठानबाट एमबीजी र म सँगै हिँड्दै बागलुङ गयौँ । बैठक सकिएपछि डकुमेन्ट लिएर मलाई गण्डकीतिर जाने भनेर पठाइयो । म बागलुङ बजारबाट हिँडेँ ।
अर्को दिन पुस १ गते परेको रहेछ । पुस १ गते कम्युनिस्टहरूले पर्चा छाप्छन् भन्ने चर्चा हुन्थ्यो । पुस १ गते बिहान म पोखरा पुगेको थिएँ । मसँग पार्टीका दस्ताबेज थिए । प्रहरी चौकीछेउ भएर जानुपर्ने । चौकीछेउमा ५–७ जना अरू मान्छे थिए । उनीहरू सबैलाई प्रहरी चिन्दो रहेछ । मलाई नयाँ मान्छे देखेर शंका गर्यो । झोला खोलिहाल्यो । डकुमेन्ट फेला पारिहाल्यो । पक्राउ गरेर एक महिनाजति पोखरामा राख्यो ।
पछि पोखराबाट हुलाक सार गर्न थाल्यो । पोखराबाट स्याङ्जाको पुतलीखेत, पुतलीखेतबाट स्याङ्जाकै वालिङ, वालिङबाट तानसेन पुर्यायो । त्यहाँसम्म गाडीमा पुर्यायो । त्यसपछि हिँडायो । तानसेनबाट गुल्मीको तम्घास, तम्घासबाट प्युठानको दुर्कोट, दुर्कोटबाट प्युठानकै मछी, मछीबाट खलंगा, खलंगाबाट भिंग्री, भिंग्रीबाट रोल्पाको होलेरी, होलेरीबाट सल्यानको ल्ह्वाम हुँदै सल्यान पुर्यायो । मलाई संगठनसम्बन्धी मुद्दा थियो । अञ्चल कार्यालय त्यसवेला सल्यानमा थियो । त्यस्तै १५–१७ दिनपछि सल्यान पुगियो होला ।
त्यसवेला मैले बीचमा भाग्ने अवसर खोजेँ । प्युठानमा अवसर थियो । मछीबाट आउँदा एउटा मात्र प्रहरीले लिएको थियो । मछीको चौकीमा साथीहरू भेट्न आएका थिए । मैले प्युठानका पार्टीका साथीहरूलाई ‘म भाग्ने भए भाग्न सक्छु । भाग्ने हो कि होइन, पार्टीले डिसिजन गर्नुपर्यो’ भनेर साथीहरूलाई खबर पठाएँ । त्यहाँबाट हिँडेपछि बीच बाटोमा प्युठानका डिसिएससँग पनि भेट भयो । यसो हेरेर प्रहरीलाई यता बस भनेँ । अनि अलि पर गएर डिसिएसलाई ‘ल म भाग्ने–नभाग्ने डिसिजन दिनुस्’ भनेँ । उहाँले ‘हुन्छ सल्लाह गरौँला’ भन्नुभयो ।
त्यहाँबाट पनि अगाडि बढायो । म पार्टीले डिसिजन नगरेसम्म नभाग्ने निर्णयमा पुगिसकेको थिएँ । भिंग्रीबाट एकजना प्रहरीले साँझामा होलेरी पुर्याएर फर्कियो । बेलुकी होलेरीमै बस्नुपर्ने भयो । होलेरी चौकीमा एकजना मात्रै प्रहरी थियो । उसले केही किन्नुपर्ने भएछ । मलाई हतकडी लगाएर सँगै लैजाने कुरा पनि भएन । मलाई त्यहीँ चौकीमा एक्लै छोडिदियो ‘नभाग्नू है’ भनेर । मैले ‘म कहाँ भाग्छु र भाग्दिनँ, तपाईं चिन्ता नगर्नुस्’ भनेँ । प्रहरी बजारतिर लागेपछि स्थानीयबासी आए । ‘के बेकार प्रहरीको पछि–पछि हिँडिरहेको, यहीँबाट भाग’ भने । मैले पार्टीले नभनेसम्म भाग्दिनँ भनेँ ।
सल्यान पुर्याएर जेलमा राख्यो । त्यहाँ ‘क’ श्रेणीको खाना दिएन । ‘ख’ श्रेणीको खाना दिएको हुनाले संघर्ष गर्यौँ । कांग्रेसी बन्दी पनि थिए । जेलमा १० दिनजति अनशन बस्यौँ । त्यसपछि सार्नुपर्यो भनेर म र नेपाली कांग्रेसका मुक्ति भन्ने एकजना बन्दीलाई सार्यो । त्यसवेला रुकुमकोटबाट मुसीकोट अड्डा लिन थालेको थियो । त्यसैवेला सल्लेमा गोली चल्यो । त्यहाँबाट घाइते पनि ल्यायो । तिनै घाइतेसँगै हामीलाई पनि घोराही पुर्यायो । र, घोराही जेलमा राख्यो । त्यसवेलामा १८ महिना जेल बसेँ ।
चौथोपटक म सिलिगुढीबाट पक्राउ परेँ । अस्पतालबाट डिस्चार्ज भएर निस्कँदै थिएँ । बाहिर सिभिलमा प्रहरीहरू बाटो छेकेर बसेका रहेछन् । पक्डिहाले । ‘ल हामी प्रहरी हौँ । तपाईंलाई एरेस्ट गर्यौँ’ भने । नेपाली भाषी थिए, ती प्रहरी पनि । सरप्राइजजस्तै भयो । ‘कसरी म पक्राउ परेँ’ भनेर खुलदुली जागेर आयो । ‘अब मलाई के कसो गर्लान्’ भन्ने सोचाइ पलायो । अलि गम्भीरजस्तै भयो स्थिति । पक्राउ परेपछि आत्तिहाल्ने अवस्था भने भएन । पञ्चायतकालमा पनि जेल परिएकै थियो । तैपनि, कसरी एक्सपोज भयो त भन्नेमा बढी ध्यानकेन्द्रित भयो ।
०६० को चैतमा पक्राउ परेको, ०६३ को मंसिरमा छुटेँ । भारतीय जेलमा पौने तीन वर्ष बसेँ । जेलमा असाध्यै कडाइ गरियो । ६ महिनासम्म त रेडियोसमेत सुन्न दिएनन् । साथीहरू भेट्न आउन सक्दैनथे । परिवारका सदस्यहरू भेट्न आउँथे । उनीहरूसँगको भेटमा केही कुरा थाहा पाइन्नथ्यो ।
पछि रेडियो दियो । कहिलेकाहीँ अखबार दिन्थ्यो । साथीहरू पटनाबाट पक्राउ परेको अखबारबाट थाहा पाएँ । खारामा ठूलो क्षति भएको पनि समाचारबाटै थाहा पाएँ । पार्टीभित्र झगडा परेको छ भन्ने, बाबुराम र प्रचण्डबीच झगडा पर्यो रे भन्ने जेलमा सुनाउँथे । बाबुरामजीलाई कारबाही गरेको कुरा त परिवारले भनेर मात्र थाहा पाएँ । गम्भीर छ स्थिति भन्थे । अलि अनुभूत गर्ने गरी भएका घटनामा पछिल्लो खारा घटना, कालीकोटको पिली आक्रमणका बारेमा थाहा पाएँ ।
सिलिगुढी जेलमै रहेका वेला चिठी आदान–प्रदान भयो । प्रचण्डजीले दुईवटा चिठी लेख्नुभयो । मैले पनि जेलबाटै दुवै चिठीको जवाफ फर्काएँ ।
क्रान्ति गर्ने भनेर हिँडिसकेपछि जेल सामान्य नै हो । जनयुद्धका वेलामा जेल पर्नु ठूलो कुरा होइन । हजारौँ साथीहरूले जीवन नै गुमाएका छन् । मलाई जेल परेर ठूलो काम गरियो भन्ने लाग्दैन । मैले कुनै ठूलो काम गरेको छैन । पञ्चायतकालको त त्यस्तो केही लाग्दैन । जनयुद्धका क्रममा कहाँ कमजोरी भयो, के कारणले पक्राउ परियो भनेर घोत्लिने काम भयो ।
फेरि पनि भूमिगत जानुपरे तयारै छु । भूमिगत जीवनको लामो अभ्यास गरेको छु । मलाई भूमिगत जीवन राम्रै लाग्छ । यान्त्रिक ढंगले भूमिगत हुने कुरा त भएन । क्रान्तिको आवश्यकताअनुसार भूमिगत हुनुपर्यो भने भइन्छ । कुनै अप्ठ्यारो पर्नेवाला छैन ।
– नयाँ पत्रिका दैनिकबाट
















प्रतिक्रिया