
मुस्ताङ, ८ फागुन । पटक–पटकको हिमपातका कारण बाटो अवरुद्ध भएपछि लोमान्थाङ जाने पर्यटकबीच बाटोबाटै फर्किन बाध्य भएका छन् । फागुन महिना सुरु भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको भ्रमणमा आएका तीन अमेरिकन नागरिक कागबेनी र चैलेको बीच पर्ने बाटोमा हिउँ जमेपछि फर्किएका हुन् ।
साँघुरो र गल्छी परेको बाटोमा पूरै हिउँ जमेपछि उनीहरु अघि बढ्न नसक्दा फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका धनबहादुर गुरुङले जानकारी दिनुभयो । फागुन महिना सुरु भएसँगै जिल्लामा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
गुरुङका अनुसार उपल्लो मुस्ताङमा जाने चैले, ताब्यालगायत स्थानमा हिउँ जमेकाले पैदलमार्फत अघि बढ्नसक्ने अवस्था छैन । “त्यो ठाउँमा बाटो अप्ठ्यारो छ, खाल्डो भएकाले हिउँ निकै पछिसम्म जमेर बस्छ”-गुरुङले भन्नुभयो-“आफैँ पग्लन त समय लाग्छ, डोजर नै प्रयोग गर्नुपर्छ ।”
गत वर्ष पनि उक्त क्षेत्रमा हिउँ जमेकाले थुप्रै पर्यटक बीच बाटोबाटै फर्कनु परेको थियो । अनौठो भू–बनोट, रहनसहन, कलासंस्कृतिको अध्ययन र राजदरबारको अवलोकनका पर्यटकहरु लोमान्थाङ पुग्ने गर्दछन् । सन् २०१४ मा चार हजार १०० पर्यटकले लोमान्थाङ भ्रमण गरेको एक्यापले जनाएको छ । त्यसमा अधिकांश तेस्रो मुलुकका नागरिक थिए ।
उपल्लो मुस्ताङलाई याम सुरु नहुँदै पर्यटक आउँदा फर्किनुपरेको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । “उपल्लो मुस्ताङ जाने भनेको अलि ‘भिआइपी’ नै हुन्छन्, खोज अनुसन्धान र प्राकृतिक सुन्दरतामा रमाउन उनीहरु त्यहाँ जान्छन्, चैतपछि बल्ल त्यहाँको वातावरण राम्रो मानिन्छ”–प्रमुख कुइँकेलले भन्नुभयो–“जिल्ला विकास समितिसँग सहकार्य गरेर बीच बाटोमा रहेको हिउँ हटाउने तयारी गरेका छौँ ।”
केही वर्षअघि सम्म लोमान्थाङ क्षेत्रमा होटल व्यवसायको अभाव हुँदा पर्यटकलाई सास्ती हुने गरेको थियो । तर पछिल्लो समय त्यस क्षेत्रमा पनि सुविधासम्पन्न होटल थपिँदै गएको प्रमुख गुरुङको भनाइ छ । रासस















प्रतिक्रिया