३ कार्तिक २०८३, मंगलबार

रुपन्देहीकाे आमदानी बजेट खर्च भन्दा धेरै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ३१ असार । रुपन्देही जिल्लाको आमदानी बजेट खर्च भन्दा धेरै भएको छ । आर्थिक बर्ष २०७५/०७६ को अन्तिम दिन सम्मको राजश्व संकलनको अवस्था हेर्दा जिल्लाको आमदानी बजेट खर्च भन्दा धेरै भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको अनुसार आर्थिक बर्ष २०७५/०७६ मा राजश्व संकलन ९९ अर्व ३५ करोड ७५ लाख २ हजार ९२ रुपैया रहेको छ भने कुल बजेट खर्च ३४ अर्व ३७ करोड ६६ लाख ९० हजार ५ सय ९ रुपैया रहेको छ । बजेट खर्चको करिव २.७ गुणा बढि आमदानी रुपन्देहीले गरेको छ । यसरी बजेट खर्च भन्दा आमदानी नेपालमा कम नै जिल्लाको हुने गर्छ ।

रुपन्देही जिल्लाले आर्थिक बर्ष २०७४/०७५ को तुलनामा राजश्व संकलनमा बृद्धी पनि गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा गत बर्ष भन्दा ९.९५ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।

कोषतथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका प्रमुख चन्द्र प्रसाद भुसालका अनुसार सबैभन्दा बढी राजश्व संकलन भैरहवा भंसार कार्यालयको ८१ अर्व ८४ करोड ८३ लाख ३४ हजार ६ सय ७४ रुपैया भएको छ ।

आन्तरिक राजश्व कार्यालय बुटवलको ९ अर्व ४३ करोड १० लाख ३८ हजार १० रुपैया, आन्तरिक राजश्व कार्यालय भैरहवाको ७ अर्व २७ करोड ४८ लाख ८२ हजार ७ सय १० रुपैया, अध्यागमन कार्यालय १३ करोड ५५ लाख ७८ हजार १ सय ३७ रुपैया, कोष तथा लेखा नियन्त्रक कार्यालय १० करोड ४९ लाख ९० हजार ९ रुपैया, मालपोत कार्यालय भैरहवा ७ करोड ५३ लाख ७२ हजार २ सय ९ रुपैया, मालपोत कार्यालय बुटवल ६ करोड ९६ लाख ८८ हजार ८सय ८५ रुपैया रहेको छ ।

भुसालका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा रुपन्देही जिल्लाको कुल बजेट ३७ अर्व २१ करोड ७३ लाख ८६ हजार ९ सय ९५ रुपैया रहेकोमा ३४ अर्व ३७ करोड ६६ लाख ९० हजार ५ सय ९ रुपैया (९२.३७ प्रतिशत) बजेट खर्च भएको छ ।

कुल बजेट खर्चमा चालु बजेट २९ अर्व ५९ करोड ४७ लाख ५९ हजार ९ सय ९५ (७९.५२ प्रतिशत) रहेकोमा २८ अर्व ४ करोड ४८ लाख ९० हजार ६ सय २७ (९४.७५ प्रतिशत ) खर्च भएको छ भने पुजिगत बजेट ७ अर्व ६२ करोड २६ लाख २७ हजार (२०.४८ प्रतिशत) रहेकोमा ६ अर्व ३३ करोड १७ लाख ९९ हजार ८ सय ८१ रुपैया (८३.०७ प्रतिशत) खर्च भएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा बढी बजेट खर्च गर्ने कार्यालयमा संघिय आयोजना कार्यान्वयन इकाइ (भवन), डिभिजन सडक, बुटवल बेलहिया व्यापारिक मार्ग, संघिय खानेपानी, डिभिजन खानेपानी, भैरहवा तौलिहवा सडक, सिचाई डिभिजन कार्यालय, बिटवल सभाहल, भैलुभुज, जनताको तटबन्ध लगायत रहेका छन् ।

रुपन्देहीमा हाल १ सय १४ वटा सरकारी कार्यालय रहेका छन् जसमध्य ९४ वटा संघिय कार्यालय, १६ वटा स्थानिय तह र ५ वटा प्रादेशिक कार्यालयहरु छन् ।