
काठमाडौं, १८ असार । सशस्त्र प्रहरी परिवार महिला संघको १८औं वार्षिकोत्सव समापनको अवसरमा यही वुधबार ‘रक्तदान जिवन दान’ को नारा सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौंको हल्चोक स्वयम्भूस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा सो संघका पदाधिकारी तथा एपीएफ अधिकृत एवं विल्लादार जवानहरु गरी कूल ४६ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा उपत्यकास्थित विभिन्न एपीएफ इकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेका थिए ।

उक्त समारोहमा नेपाल रेडक्रस सोसाइटीका प्रदिप मानन्धरले सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाललाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।

समाज सेवाको पवित्र उद्देश्यकासाथ वि.सं. २०५९ सालमा स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रहरुमा सेवामूलक एवं जनचेतना अभिवृद्धि कार्यक्रम संचालन, विपद प्रकोप पिडितहरुलाई राहत वितरण कार्र्यका साथै सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई सीपमूलक तथा आयमूलक विभिन्न खालका तालिमहरु समेत संचालन गर्दै आइरहेको छ ।

नविन सोचकासाथ सामाजीक सेवामा सकृय रुपमा निरन्तर लागीरहेको सो संघले बिकट तथा अति दुर्गम क्षेत्रका बिपन्न र पिछडिएका तथा सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई निःशुल्क रुपमा आवाशीय सुविधासहित अध्ययनको व्यवस्था समेत मिलाएको छ ।












प्रतिक्रिया