
काठमाडाैँ, १३ असार । विवेकशील नेपालीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा सुरु भएको छ। तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय गर्ने प्रवक्ता मिलन पाण्डेले बताए ।
सम्मेलनको पहिलो दिन सहभागीहरूले हातमा नेपालको झन्डा बोकी वाणिज्य सङ्घको सभाहलबाट सुरु गरी सहरको प्रभातफेरि गरेका थिए । सबै सहभागीहरूले लिवाङको टुँडिखेलमा गोलो घेरा बनाई राष्ट्रिय गान गाएका थिए । त्यसपछि प्रभातफेरि वाणिज्य सङ्घको सभाहलमा नै पुगी समापन भएको थियो।
कार्यक्रममा सहभागी तथा अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्यको बारेमा प्रदेश ५ का संयोजक शिव प्रसाद थापाले प्रष्ट पारेका थिए ।
प्रदेश सभा ३ का सांसद रमेश पौड्यालले प्रदेश सभामा आफूहरूले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । साथै, उनले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्रेर हत्या गरेकोमा सरकारको विरोध गर्दै विप्लव समूहलाई पनि हत्या हिंसा त्यागेर तीन करोड नेपालीको मुहारमा मुस्कान ल्याउन सबै पक्ष सँग वार्ता, संवाद र सहकार्य गर्न आग्रह गरेका थिए।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा पार्टीका अध्यक्ष उज्वल थापाले द्वन्द्वकालमा आफूले रोल्पामा गरेको भ्रमणको स्मरण गरेका थिए । साथै, उनले विवेकशील नेपालीको इतिहास संक्षिप्तमा पनि व्यक्त गरेका थिए ।
उनले सिस्टम बनाउनु अघि संस्कार बनाउन आवशयक रहेको कुरा समेत बताए । उनले कार्यक्रमले देशको एक राजनीतिक दललाई आवश्यक पर्ने नीति, रणनीति तथा विधान यस सम्मेलनले तय गर्ने विश्वास व्यक्त गरेका थिए ।












प्रतिक्रिया