
-जगन दाहाल
गान्तोक, १३ असार । सिक्किममा भारत र नेपालले भारतका पूर्वोत्तर राज्य र नेपालको आर्थिक विकासमाथि साझेदारी गर्ने उद्देश्यले भारत-नेपाल आर्थिक साझेदारी समिट आयोजन गरिएको छ ।
सिक्किमको राजधानी गान्तोकमा शुक्रबार आयोजित सम्मिटमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले, भारतका लागि नेपाली राजदूत डा. निलाम्बर आचार्य लगायत सहभागी थिए ।
सम्मेलनमा भारत र नेपालको आर्थिक विकासमा पर्यटन, कृषि एवं खाद्य प्रणाली, विद्युत, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कौशल विकास अनि स्टार्टअप सेवा आदिमाथि विशेष चर्चा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले दुई देशको साझेदारीले दुवै देशलाई धेरै फाइदाहरू पुऱ्याउने बताए । व्यापार सम्बन्धले नेपाल र भारतको नाता अझ राम्रो हुनेछ भन्दै मुख्यमन्त्री गोलेले यसको माध्यमबाट दुवै देशका युवाहरूले नयाँ अवसर पाउने बताए ।
पूर्वीय हिमालय क्षेत्रमा हुने उत्पादनहरूको व्यापारमा नयाँ मूल्य पाउने बताउँदै उनले अदुवा, अलैंची, चिया, पारम्परिक जडिबुटी, सुँगुर पालनलगायत सिक्किममाका उत्पादनहरू किवी र कफी अनि फूल खेतीहरूमा दुवै देशलाई धेरै फाइदा हुनेछ उल्लेख गरे । उनले दुवै देशका अत्याधुनिक प्रविधिमा पनि व्यापार गर्न सकिने बताए।
मुख्यमन्त्री गोलेले यदी नेपालीले चाहे यहाँको पारम्परिक जडिबूटीमाथि लगानी गर्ने, थाईहरूले फूलको खेतीमाथि खर्च गर्न चाहे सिक्किम सरकारले उनीहरूलाई सहर्ष सहयोग पुऱ्याउने पनि बताए।
राजदूत डा. आचार्यले भारत नेपालको आर्थिक साझेदारीमा दुवै देशको राम्रो भविष्य रहेको बताए । दुई देशको पुरानो सम्बन्ध छ । धर्म र संस्कृतिको एउटै मूल्य रहेका यी दुई देशको सम्बन्धले दुई देशको भविष्यलाई पनि बाँधेर लाने उनले टिप्पणी गरे ।
भारतका प्रधानमन्त्रीको सबका साथ सबका विकास भन्ने सोँच लिएर अघि बढेका छन् । अब भारत नेपालले हवाई मार्ग र सडक मार्गको राम्रो व्यवस्था बनाएर दुई देशलाई अझ गहिरोसँग जोड्ने काम गर्नुपर्ने उनको भनाई छ । नेपाल र भारतको सम्बन्धले नेपालीहरूको मनमा खुशियाली ल्याउने काम गर्ने उनको विश्वास छ ।
उनले सिक्किमको वातावरण र सिक्किमको आतिथि सत्कारको प्रसंशा गर्दै भने, ‘सिक्किमका मानिसहरू राम्रा र यहाँको वातावरणले मलाई नौलो अनुभव दियो। नेपाल र सिक्किकमो पारस्परिक सम्बन्ध राम्रो छ । भौगोलिक, भौतिक र राजनीतिक कार्य एकैखाले भएको कारण हाम्रो सम्बन्ध पनि राम्रो छ र राम्रो रहोस् ।’
सिक्किम र नेपाललाई जोड्न अन्तरराष्ट्रिय मार्ग पश्चिम सिक्किमको चुवा भञ्ज्याङबाट खनिएको छ । जो सिक्किम र पूर्वी नेपाललाई जोड्नेछ। जहाँबाट भारत र नेपाललाई पर्यटनमा पनि विशेष साहयोग पुग्ने देखिन्छ ।
सम्मेलनमा सिक्किम सरकारका मुख्यसचिव आलोककुमार श्रीवास्तव, पी.एच.डी.सी.सी.आई भारत नेपाल केन्द्रका अध्यक्ष केभी राजनलगायत सिक्किम सरकारका अधिकारीह र नेपाली दूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।















प्रतिक्रिया