प्राध्यापक रमजान अलिमियाँ कतारमा काम गर्ने नेपालीहरुका लागि प्रमुख सहयोगीका रुपमा परिचित हुनुहन्छ । गरिबीले मात्र होइन्, नेपालमा काम नपाउने कारण घरबार चलाउन र आपना छोराछोरी पढाउने या भबिष्यमा केही गरेर देखाउनका लागि कलिलो उमेरमै कतारमा श्रम गर्न जाने नेपालीहरुलाइ कुनै पनि अप्ठेरो पर्यो भने प्राध्यपाक मियाँले सक्दो सहयोग गर्ने गर्नुभएको छ । त्यसैले कतारमा रहेका नेपालीहरुले उहालाई अभिभाबकको रुपमा लिन्छन् । गैरआवासीय नेपाली सघ कतारका कानुनी सल्लाहकार एवं कतार सरकारको परामर्शदाताका रुपमा रहनुभएका प्रा. रमजान अलिमियाँ नेपाल आउनुभएका बेला गरिएको कुराकानीको सारसंक्षेप:
कतारमा नोपलीहरुको संख्या त निकै छ, के छ नेपालीहरुको अवस्था ?
कतारमा नेपाली कामदारहरुको अबस्था केही समययता त्यति अप्ठेरो छैन किनकी नेपालीहरु जो तालिम लिएर गएका छन् उनीहरुलाई खासै अप्ठेरो छैन भन्न सकिन्छ ।
कति छन् नेपालीहरु ?
कतारको श्रम बजारमा नेपालीहरु ४० प्रतिशत छन् अर्थात झण्डै ४ लाख ५० हजार छन् । त्यहाँ रहेका नेपालीहरुको अबस्था राम्रो छ । सीप सिकेर जानेलाई सहज छ भने सीप नसिकी जानेलाई अलि अप्ठेरो पनि छ ।
भारतीय नागरिक पनि कतारमा निकै छन् भनिन्छ । नेपाली बढी छन् कि भारतीय ?
भारतीय नागरिकहरुको संख्या ७ लाख छ भने नेपालीहरु ४ लाख ५० हजार जति छन् त्यसैले अहिले कतारको श्रम बजारमा नेपालीहरुको संख्या दोस्रो बहुसख्याको रुपमा रहेको छ । तर नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो पनि छ नेपाली कामदारप्रति बढदो बिश्वास पनि छ ।
कारण ?
कतार सरकारले नेपालीहरुलाई बढी प्राथमिकता दिने गरेको अनुभुति हामीले पनि गरेका छौं । किनकी नेपालीहरु लगनशील र मेहनती हुन्छन भन्ने परेको छ त्यसैले श्रमबजारमा नेपालीहरुको माग बढदो छ ।
कतारमा जति नेपाली गए पनि काम पाउँछन त ?
नेपालीहरु जो कतारमा काम गर्न जाने सोचाइ बनाउनुहन्छ उहाँहरुले पहिले तालिम लिने, त्यहाँको भाषा सिक्ने काम गर्नुपर्छ । त्यसो भयो भने कुनै पनि अप्ठेरो पर्दैन र त्यसो ग¥यो भने १ सय प्रतिशत नेपाली लाभान्वित हुन सक्छन् । कतारमा बिकास निर्माण तीब्र गतिले अगाडि बढेको कारण कामदारहरुको माग पनि बढेको छ । बिश्वको धेरै आय स्रोत भित्राउने मध्ये कतार पनि पर्दछ । यसर्थ भाषा , सीप सिकेर कतार जानुस् अहिले भन्दा अझ बढी नेपालीले काम पाउन सक्छन् अर्थात १० लाख नेपालीसम्मले काम पाउन सक्ने अबस्था छ ।
कतारमा बढ्दो विकास र नेपालमा काम पाउन नसक्ने अवस्थाले नेपालीहरु थप जाने सम्भावना छ ?
निश्चय नै । किनकी कतारमा अहिले भएका श्रमिकबाहेक अझै १० लाख कामदार आबश्यक छ । त्यसमध्ये नेपालीहरु धेरै नै हुन्छन् भन्ने मलाई लागेको छ । किनकी आधुनिक कतार निर्मांण हदैछ । कतारमा अन्तरराष्ट्रिय स्तरमा बन्दरगाहहरु बन्दैछन्, सडक बिस्तार र बिकास, ठूला ठूला सर्भिस सेण्टर, अन्तरराष्ट्रिय बिमानस्थलदेखि धेरै बिकासका काम अगाडि बढाउने गरी सरकारले काम थालिसकेको छ । आउने १० बर्ष कतारमा सीप र भाषा सिकेर जानेलाई काम र दाम पनि पाउन गाह्रो छैन । त्यसैले नयाँ कतारको निर्माणका लागि नेपालीहरुको भूमिका महत्वपूर्ण हुने छ ।

नेपाल सरकारको भूमिका चाँहि कस्तो पाउनुहुन्छ ?
हामी नेपालीहरु असल र इमान्दार पनि छौँ । तर नेपाल सरकारले यहाँ न जागिर दिन नै सक्छ, न बाहिर जानेहरुलाई उपयुक्त सहयोग गर्ने गरेको छ भन्ने कतारमा जाने नेपालहरुको गुनासो सुन्ने गरिन्छ । हामीसँग नेपाली दाजुभाइ दिदीबहिनीहरुले गुनासो गर्नुहन्छ तर के गर्ने ? हामीले गर्न सक्ने सहयोग त गर्छौ । तर राज्यको तर्फबाट हुनुपर्ने सहयोग हुन नसकेको उनीहरु बताउँछन । यसको एउटा कारण कतार सरकारसँग नेपाल सरकाले गर्न सक्ने कुटनीतिक पहल पनि हुन सकेको छैन । किनकी १५ महिनादेखि कतार जस्तो ठाउँमा नेपाली राजदूत छैन । कतार राजदूतबिहीन भएको एक बर्ष बढी भैसक्यो । जसले गर्दा नियम कानुन बमोजिम नेपालीहरुलाई सहयोग गर्ने कुटनीतिक पहल गर्ने निकायको जिम्मेबार ब्यक्ति नै नभएपछि अप्ठेरो हुँदोरहेछ र त्यही भैरहेको छ ।
राजदूत नभएर के हन्छ ?
राजदूत भनेको जो आफ्नो देशको सरकार नै हो अभिभाबक हो । जतिखेर जे पनि काम पर्न सक्छ । त्यस्तो अबस्थामा सरकारको जिम्मेबार प्रतिनिधि नै नभएपछि त निकै समस्या झेल्नुपर्ने अबस्था आउँछ । उस्तै परे राजदूतले हुने काम नेपाल आएर गर्नुपर्ने स्थिति आउँछ र त्यो स्थिति आउने पनि गरेको छ । २०१५ मा एमआरपी बनाउनुपर्ने भनी कम्पनी कम्पनीमै फर्म भर्ने कार्य भैरहेको छ । सरकारको जिम्मेबार प्रतिनिधि राजदूत नभएकोले त्यसमा पनि अप्ठेरो हुने स्थिति देखिएको छ । नेपालबाट अब राजदुत पठाउँदा अनुभबी, सम्बन्धित क्षेत्रको बिज्ञ पठाउनुपर्छ । किनकी बिगतमा त्यहाँ रहेकी राजदूतले बिगारेको सम्बन्धलाई पनि सुधार गर्ने अर्थात लागेको घाउमा मलम लगाउने खालको ब्यक्ति हुनुपर्छ । त्यसतर्फ सरकारले सचेतता अपनाउनु पर्छ । सरकारको प्रतिनिधि उपयुक्त भएमा नयाँ आयाम थपिन सक्छ नेपाली कामदारहरुको त्यति धेरै सख्या मुलुकमा कुटनीतिक सम्बन्ध त्यही अनुसार राख्न सक्ने ब्यक्तिको जरुरी हुन्छ ।
नयाँ आयाम भन्नाले ?
नेपाल पर्यटकीय हिसाबले गन्तव्य मुलुक पनि हो । अरबी देशका नागरिकहरुलाई नेपाल भ्रमणका लागि बातावरण बनाउने काम राजदूतले गर्न सक्छन । त्यसैले नयाँ आयाम थपिने गरी भूमिका निर्बाह गर्न सकिन्छ भन्ने मेरो भनाइ हो । त्यतिमात्रै होइन्, राजदूतावासको पहलमा कतारबाट नेपालको पूर्वाधार विकासमा आर्थिक सहायता ल्याउन सकिन्छ । अहिले कतार विश्वमै तीव्र गतिमा विकास भइरहेको मुलुक हो । कतारलाई कामदार दिएबापत खोइ त हामीले लाभ लिएको ? खाली रेमिट्यान्स भित्राउने मात्र होइन् । कतारको सरकारबाट थुप्रै पूर्वाधार र विकासका परियोजनाहरु ल्याउन सक्छौँ । कतार एयरवेजको जहाज पाँच बर्ष चलेपछि उनीहरु कि त त्यसलाई डिस्पोज गर्छन् कि उपहार दिन्छन् । अहिले पनि कतार सरकारबाट अफ्रिकी मुलुकहरुले जहाज उपहार पाइरहेका छन् । कमसेकम कुटनीतिक रुपमा पहल गर्ने हो भने नेपाल वायु सेवा निगमलाई पनि जहाज उपहार मिल्न सक्छ । त्यसतर्फ हाम्रो ध्यान गएको खोई ?
अर्कोतर्फ कतारमा शुद्ध पिउने पानी बाहिरबाटै आयात हुन्छ । हामी कतारलाई शुद्ध पिउने पानी बेचेरै अरर्बौ रकम नेपालमा भित्राउन सक्छौं । कतारसँग श्रमिकका मुद्दामा मात्र होइन्, आर्थिक, व्यापारिक र पूर्वाधार निर्माणमा पनि हामीले हातेमालो गर्न जरुरी छ । त्यसका लागि नेपाल सरकारले अब्बल कुटनीतिज्ञलाई कतारमा पठाउन जरुरत छ ।
गैरआवासीय नेपाली संघको भूमिका के हुन्छ नि ?
गैरआवासीय नेपाली संघ बिश्वका ७० वटा मुलुकमा रहेको छ, कोही पनि नेपालीहरुलाई समस्या प¥यो भने समाधान गर्ने प्रयत्न गर्छ । त्यति मात्र होइन, कोही अकालमा मृत्यु भएमा सबैले पैसा उठाएर नेपाल पठाउने काममा संघले संयोजनकारी भूमिका निर्बाह गर्ने गरेको छ ।
कतारमा नेपालीका लागि समस्या ?
कुनै पनि देश जानु अघि स्वाथ्य परीक्षण गरेर जानुपर्ने हुन्छ । किनकी अहिले कतारमा बढी मुटुको समस्याका कारण मृत्यु हुने गरेको छ । त्यसैगरी सडक दुर्घटनाका कारण पनि मृत्यु गरेको छ ।
नेपालमा दैनिक नेपालको लाश आउँछ भनिन्छ नि ।
सरदर एक–दुई नेपालीको मृत्यु हुने गरेको छ । अर्को कुरा दिनभरि तातोमा काम गर्ने र राति एसीमा सुत्दा कतिपय नेपाली सुतेको सुत्यै हुने गरेको अबस्था छ । यसतर्फ जनचेतना फैलाउन जरुरी छ ।
(प्रस्तुतिः टंक पन्त / नेपाल समाचारपत्र दैनिक)













प्रतिक्रिया