७ कार्तिक २०८३, शनिबार

भैरहवा विमानस्थलको लागत ३५ अर्ब, अनियमितताका कारण ५ गुणा बढी खर्च

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ।

विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइ छ।

विमानस्थल निर्माण र पछिल्लो समय लागेको प्राविधिक कामको ठेक्कासमेत गरेर करिब साढे ७ अर्ब छुट्टयाइएको छ। २३ अर्ब ५९ करोड मुआब्जाको निम्ति, कार्गो भवन निर्माणमा ९० करोड, बाहिरी पेरिमिटर सडक ९० करोड, फिनिसिङ तथा खोला डाइभर्सनमा ५० करोड खर्च हुने अनुमान आयोजनाको छ।

विमानस्थल निर्माणका निम्ति कार्गो विल्डिङबाट एप्रोनसँग जोड्ने सडक निर्माण गर्नुपर्ने, एरोब्रिज राख्नेसहितको काममा अझै डेढ अर्ब खर्च अनुमान गरिएको छ। सम्पूर्ण काम सक्दा र यो विमानस्थल सञ्चालनमा ल्याउँदासम्म करिब ३५ अर्ब रुपैयाँ खर्च हुने अनुमान पनि विमानस्थल आयोजनाको छ।

प्राधिकरणका अनुसार यो विमानस्थल बनाउन करिब साढे ७ अर्ब रुपैयाँको मात्रै ठेक्का भएर मुख्य भौतिक पूर्वाधार निर्माणको काम गरिएको हो।

यो रकमबाट विमानस्थलको मुख्य धावनमार्ग, यात्रु सेवा भवन, कन्ट्रोल टावर, ट्याक्सी वे, एप्रोनसहितको काम हुनेछ। यो बाहेक ठूलो रकम विमानस्थलका निम्ति आवश्यक जग्गामा खर्च भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

उनका अनुसार विमानस्थलको निम्ति आवश्यक जग्गा व्यवस्थापनमा सबैभन्दा ठूलो रकम खर्च भएको छ। यो रकमका निम्ति विमानस्थल निर्माणपूर्व ५ सय बिघा जग्गा अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। सोहीअनुसार मुआब्जाको लागत करिब २३ अर्ब ५९ करोड रुपैयाँ छुट्टयाइएको हो।

यो पैसाबाट हालसम्म करिब मुआब्जा वितरण सकिने चरणमा पुगेको छ। विमानस्थल बन्ने भित्री क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय स्तरको बनाउनुपूर्व अधिग्रहण भइसकेको थियो।

यसबाहेक विमानस्थल वरपरको क्षेत्रका निम्ति आवश्यक थप जग्गा अधिग्रहण भएको अधिकारीले बताए। मुआब्जा दिनुपर्ने रकममा अब जम्मा ५ अर्ब मात्रै बाँकी छ।

यो रकम पनि यही असारभित्रै वितरण भइसक्ने उल्लेख छ। गाउँ ब्लक तथा विवादित बाहेकको जग्गाको मुआब्जा वितरण सकिएको पनि विमानस्थल आयोजनाले जानकारी दिएको छ।