काठमाडौं, ८ असार । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।
नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पुगेको छ । निर्वाचनअघि पार्टीले गरेको चुनावी प्रतिबद्धताअनुसार अगाडि बढ्न नसकेको, मन्त्रीहरुको काम सन्तोषजनक नभएको, पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा समेत अझै सांगठनिक एकता टुंगो लाग्न नसकेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पार्टीभित्रैबाट आलोचना सुरु भएको छ ।
पार्टी एकीकरणको बाँकी काम टुंगो लगाउन पनि अध्यक्ष ओलीको कार्यव्यस्तताले लम्बिदै आएको छ । पार्टीको बैठक बस्छ तर समय अभावको कारण देखाउँदै स्थगित हुँदै आएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्ष ओलीकै कार्यव्यस्तता कारण रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘बैठक त बस्छ, एजेन्डा प्रवेश गरेपछि बैठक स्थगित हुन्छ, अध्यक्षले समय निकाल्न नसक्दा पार्टी एकताको बाँकी काम सम्पन्न गर्न ढिला भएको छ ।’
प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुभएपछि स्थगित भएको सचिवालयको बैठक लामो समयपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो तर बैठक एजेन्डामाथि प्रवेश नै नगरी सम्पन्न भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले युरोप भ्रमण सफल र फलदायी भएको ‘ब्रिफिङ’ गर्नुभएको थियो । झण्डै आधा घण्टाभन्दा बढी समय उहाँले भ्रमणको बारेमा भएका उपलब्धि सचिवालय बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्जको कार्यविभाजन गर्ने विषयले प्रवेश नै नपाएको बताइएको छ ।















प्रतिक्रिया