काठमाडौं, ४ असार । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ। केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो। पानी र जमिन दुवै स्थानमा सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरिएको सेनाले जनाएको छ।
गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो। सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको करिब एक साताअघि पानीमुनि ९अन्डरवाटर० समेत सेनाले गुणस्तर मापन गरेको थियो। सेनाले विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट ल्याउने गरेको छ।
सेनाले एक साताअघि सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो। परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको बताए। उनले भने, ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो। उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन।’
विस्फोटकमा आत्मनिर्भर हुने प्रयत्न भइरहेका बेला आफ्नो उत्पादनबारे निहित स्वार्थ बोकेका ठेकेदार कम्पनीले गलत प्रचार गर्न थालेपछि सेनाले विस्फोटकको तुलनात्मक परीक्षण गरेको हो। संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले सेनाद्वारा उत्पादित २ मेट्रिक टन विस्फोटक लगेको छ। अरुण तेस्रोले आगामी ५ वर्षभित्र ५ हजार ३ सय मेट्रिक टन विस्फोटक चाहिने जानकारी सेनालाई गराएको स्रोतले बताएको छ। सेनाले सुनाचुरीमा उत्पादन गरेको विस्फोटक किन्न अरुण तेस्रो इच्छुक देखिएको छ।















प्रतिक्रिया