७ कार्तिक २०८३, शनिबार

तस्कर समूहको प्रश्न– सुन लिएर फर्कंंदै हुनुहुन्छ कि रित्तै ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ४ असार ।

स्थान : हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहा कतार
समय : मध्यरात १२ बजे

दृश्य १

कतारको दोहाबाट विभिन्न एयरलाइन्स हुँदै काठमाडौं फर्कने नेपाली हमाद अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्दै छन् । विमानस्थलभित्र पुगेपछि बोर्डिङ पास बनाउने लाइनको ठीक सामुन्ने करिब आधा दर्जन नेपाली युवाको एक समूह देखिन्छ । उनीहरू स्वदेश फर्कन लागेका हरेकजसो नेपालीसँग सोधखोज गरिरहेका देखिन्छन् । खासमा उनीहरूको सोधीखोजी ‘सुन ओसारपसार’सँग जोडिएको रहेछ । बोर्डिङ पास लिन लाइन बस्ने क्रममा उनीहरूमध्येका एजननाले नजिकै आएर भने, ‘सुन लिएर फर्कंदै हुनुहुन्छ कि रित्तै ?’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

३३ किलो सुन काण्ड, गोरे प्रकरण, क्विन्टलका क्विन्टल सुन तस्करीजस्ता समाचार पढ्दा–पढ्दा अभ्यस्त भइसके पनि विमानस्थलभित्र अपरिचित व्यक्तिबाट आएको यस्तो जिज्ञासा अनपेक्षित नै थियो । ‘सुन बोकिएको छैन ।’ जवाफ दिन नभ्याउँदै ती व्यक्तिले भने, ‘एकछिन् यता आउनुस् न ।’ किन ? तिनले अर्को प्रश्नको पनि उत्तिकै चाँडै उत्तर दिए, ‘फाइदा हुने कुरा छ । हाम्रो सुन काठमाडौं लगिदिनुस्, पैसा दिन्छौँ । काठमाडौंमा खान बस्न र घरसम्म पुग्न टिकटको पनि व्यवस्था गरिदिन्छौँ ।’

‘तपाईंहरू कतिजना हुनुहुन्छ ? कति सुन लैजानुपर्ने हो ?’ नेपालीहरूसँग कुराकानी गरिरहेका अरू युवालाई देखाउँदै उनले भने, ‘५/६ जना छौँ । सरकारले तोकेको ५० ग्राम सुन लैजाने हो ।’ उनले यति भनिसकेपछि विमानस्थलभित्रै पसेर सुन ओसारपसारमा संलग्न उनीहरूबारे थप जानकारी हासिल गर्ने सोचसहित हुन्छ कुराकानी गरौँ । चित्तबुझे लगौँला भन्दै लाइनबाट हटियो । पहिलो चरणमा उनीहरूसँग उभिएरै कुराकानी भयो । त्यतिन्जेलसम्ममा उनीहरूले थाहा नपाउने गरी मोबाइलमा भिडियो रेकर्ड सुरु भइसकेको थियो ।

तपाईंसँग बाला छैन भने हाम्रो लिएर जानुस्

दृश्य २

अन्दाजी ३०–३२ वर्षका देखिने ती युवाले आफ्नो नाम ‘विश्वास लामा’ बताए । घर चितवनको रत्ननगर नगरपालिका बकुलर चोकदेखि माथि जानुपर्छ, नयाँ बस्ती हो । धादिङको गजुरीबाट ६–७ वर्षअघि चितवन बसाइँ सरेको उनको भनाइ थियो । यदि तपाइँहरूसँग सुनको बाला छैन भने हाम्रो लिएर जानुस् । बकाइदा तपाईंको नाममा बिल बनाइदिन्छौँ । लुकाउनु, छुपाउनु पर्दैन ।