
काठमाडाैं, ३ असार । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित ५९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेलगायत विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मालपोत अधिकृत न्यौपाने, मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक यमुनाकुमार श्रेष्ठ, स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।
सरकारी कर्मचारीलाई अनुचित प्रभावमा पारी गैरकानुनी तरिकाबाट उक्त जग्गा आ–आफ्नो नाममा दर्ता गर्ने कार्यमा प्रत्यक्ष संलग्न तथा आफ्नो नाममा जग्गा दर्ता गर्ने हरिहर न्यौपाने, मनीषचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णुऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।
उनीहरूमध्ये गोमा गोविन्दकी श्रीमती र पार्वती छोरी हुन् । न्यौपानेले ७० रोपनी जग्गा श्रीमती गोमा र ६८ रोपनी जग्गा छोरी पार्वतीको नाममा दर्ता गराएका थिए । अनुसन्धान सुरु भएपछि उनीहरू फरार भएका थिए ।















प्रतिक्रिया