१८ कार्तिक २०८३, बुधबार

सीप सिकेकामध्ये ७० प्रतिशत रोजगारोन्मुख

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नेपालगञ्ज, २ असार । नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालिम केन्द्रमा सिलाइकटाइ सम्बन्धी तालीम लिइरहनुभएको छ ।

‘तालिम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आपैmले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’—सारुमगरले बताउनुभयो ।

सारु मगर जस्तै केन्द्रवाट विभिन्न व्यवसायमूलक सीपको तालिम लिनेको संख्या यो वर्ष ६०० भन्दा बढी रहेका छन् । नेपाल सरकारअन्तर्गत रहेका सो केन्द्रवाट पछाडि पारिएका, अल्पसंख्यक, सीमान्तकृत समुदाय तथा विपन्न परिवारका महिला र पुरुषले केश शृङ्गार, सिलाइकटाइ, विद्युत् जडान, कम्प्युटर, वेल्डिङ, इलेक्ट्रोनिक्स सामान मर्मत, कुक, पलम्बिङ, फेसन डिजाइन, सुरक्षा गार्ड, मोटरसाइकल मर्मत लगायत तालिम लिइरहेका छन् ।

‘विकासको मूलप्रवाहभन्दा बाहिर रहेका ती वर्ग एवं समुदायलाई प्राथमिकतामा राखेर सीपयुक्त व्यावसायिक तालिम दिने गरेका छौ’—केन्द्रका प्रमुख जेन्टिल गौतमले भन्नुभयो,“तालिम लिएकामध्ये झण्डै ७० प्रतिशतले रोजगारमूलक व्यवसाय सञ्चालन गरेका छन्”, उहाँले भन्नुभयो, “२०४१ सालदेखि अहिलेसम्ममा केन्द्रले करीब १८ हजारलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेको छ । तीमध्ये महिलाको संख्या १० हजारको हाराहारी रहेको छ ।”

केन्द्रले सञ्चालन गर्ने तालिममा सहभागी हुन चाहनेले आठ कक्षा पास गरेको र १८ वर्ष भई ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको तालिम प्रशिक्षक अञ्जु खनालले बताउनुभयो । केन्द्रले अहिले तीन महीने र ६ महीने तालिम सञ्चालन गर्दै आएको छ । अहिले नेपालगञ्ज उपमहानगरपालिकाले पनि नगर क्षेत्रका गरीब, विपन्न र पछाडि पारिएका समुदायलाई लक्षित गरी विभिन्न सीप विकासका तालिम सञ्चालन गरिरहेको छ । नगरका वडा वडामा सिलाइकटाइ, केश शृङ्गार, हस्तकला, ब्युटिसियन, ब्याग बनाउनेलगायतका तालिम सञ्चालन गर्दै आएको उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

उपमहानगरपालिकाले दिने तालिममा विशेषतः दलित, चिडिमार समुदाय र अतिविपन्न परिवारका सदस्यलाई प्राथमिकता दिने गरिएको उहाँले बताउनुभयो । –रासस