काठमाडौं, १ असार । व्यापार घाटा न्यूनीकरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला मन्त्रालय र अन्य निकायलाई पत्राचार गरेको छ। मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्न प्रत्यक्ष सरोकार राख्ने १५ वटा निकायलाई यस्तो पत्राचार गरेको हो। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
मन्त्रालयका सहसचिव मधु मरासिनीले बढ्दो व्यापार घाटा न्यूनिकरणमा भूमिका खेल्न सक्ने सरोकारवाला निकायलाई कामको जिम्मेवारी र त्यस्ता काम सक्ने समय तोकी यसै साता पत्राचार गरिएको जानकारी दिए।
मन्त्रालयका अनुसार व्यापार घाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजनाले तोकेको कामकै बाँडफाँट गरी कति समयभित्र कस्ता योजना अघि बढाउँदा व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ भनेर जिम्मेवारी तोकेर पत्राचार गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यो कार्ययोजना दुई साताअघि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।
मन्त्रालयले पत्राचार गरिएका निकायमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय छन्।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र राष्ट्र बैंकलाई पत्राचार गरेको छ।















प्रतिक्रिया